वीरगन्ज,२८कार्तिक:नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टरको गठन भएको छ।मञ्चको अध्यक्षतामा रजत बजाज चयन भएका छन्। अन्य पदाधिकारीहरूमा अननन्या रुंगटा (लर्निंग चेयर), दीपक साह (स्टार्ट अप चेयर), आयुषी तुल्स्यान (कम्युनिकेशन एण्ड नेटवर्क चेयर), मोहित खण्डेलवाल (फाइनान्स चेयर) र तनुश्री अग्रवाल (मेम्बरशिप चेयर) रहेका छन्।
वीरगन्जको होटल लर्डस दियालोमा आयोजित समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री शतिसकुमार सिंहले च्याप्टरको उद्घाटन गरे।
मुख्यमन्त्री सिंहले कार्यक्रममा कृषि, उद्योग र जनशक्तिको सहयोगमा प्रदेशमा समृद्धि हाँसिल गर्न सकिने बताए। उनले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले युवालाई स्वदेशमै स्वरोजगारको अवसर प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, उनले युवाहरूलाई विदेश पलायन कम गर्न र स्वदेशमै सीपयुक्त बनाउँदै टिकाउन सरकारले मञ्चसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए। सिंहले मधेस प्रदेशमा ‘मुख्यमन्त्रीसँग नीजि क्षेत्र’ नामक कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको जानकारी पनि दिए।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले परिसंघले सरकारलाई बजेट निर्माणदेखि नीतिगत सुझाव दिँदै आएको उल्लेख गर्दै, युवा र महिला उद्यमी मञ्चद्वारा उद्यमशीलताको विकासमा उल्लेखनीय योगदान भइरहेको बताए। उनले परिसंघले सञ्चालित ‘सीप नेपाल’ कार्यक्रमअन्तर्गत ४,३०० युवालाई विभिन्न सीप प्रदान गरेको जानकारी दिए।
मधेस प्रदेशका परिसंघ अध्यक्ष प्रमोद कुमार साहले युवा उद्यमीलाई एकीकृत गरी प्रदेशमा सीपयुक्त जनशक्ति उत्पादन गर्न यो मञ्च महत्त्वपूर्ण रहेको धारणा राखे। यसले विद्यमान बेरोजगारी समस्या समाधान गर्न नवाचारमार्फत उत्पादनशक्ति बढाउने योजना अघि सारेको उनले बताए।
नवगठित मञ्चका अध्यक्ष रजत बजाजले कार्यक्रमको समापनमा मञ्चको लक्ष्य मधेस प्रदेशको उद्योग र व्यवसायमा उल्लेखनीय योगदान पुर्याउनु रहेको प्रतिबद्धता जनाए।

