बारा,१६कार्तिकःबारामा एक वर्षयता चार जनाको हत्या भएको छ । गत वर्षको कात्तिक १२ गते कलैयाका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश सर्राफको हत्या भएकोमा प्रहरीकै भनाइअनुसार हत्याका मुख्य आरोपी अझै पक्राउ परेका छैन । कलैयाको मुख्य बजारमा दिनदहाडै हतियारधारी समूहले गोली प्रहार गरी सर्राफको हत्या गरेको थियो ।
यसैगरी उक्त घटनाको ६ महिनापछि कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख आदर्शकोतवाल गाउँपालिका–१ खजुरीया निवासी ४८ वर्षीय हरिभूषण कुशवाहाको घरबाट कलैया आउँदै गर्दा गाउँ नजिकैको बतरास्थित सडकमा मोटरसाइकलमा सवार २ जनाको समूहले दिउँसो गोली प्रहार गरी हत्या गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराका एक अनुसन्धान अधिकृतकाअनुसार दुवै शिक्षकको हत्यामा केही लिंकेज भएका व्यक्ति पक्राउ परी अदालतको आदेशमा पुर्पक्षका लागि वीरगन्ज कारागार चलान भएपनि मुख्य हत्या आरोपी अझै पक्राउ परेका छैनन् । तर तिनीहरूको पहिचान खुले पनि भारततिर सेल्टर लिएर बसिरहेको सूचना प्राप्त भइरहेकाले तिनीहरूलाई चाँडै पक्राउ गरिने ती प्रहरी अधिकृतले दाबी गरे । यसैबीच पछिल्लो दुई सातायता भएको २ जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुवै हत्याका आरोपीलाई पक्राउ गरेको दाबी गरेको छ । उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
घटना विवरणअनुसार महागढीमाई नगरपालिका–१ सेमरा तेगछिया निवासी ६० वर्षीय भुमिसुधार भन्ने श्रीनारायण यादवलाई घाँटीमा धारिलो हतियार प्रहार गरी गत कात्तिक १० गते ८ बजे राति हत्या गरेको आरोपमा सोही ठाउँका ६४ वर्षीय सोथाईं भन्ने सोंचाई खाँ थारूलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।
हत्यालगत्तै ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा चौधरीलाई रातभरि कन्भिन्स गरेपछि स्वयंले स्विकारेको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए । चौधरीको साविती बयानले हत्यामा प्रयोग गरिएको खुकुरीसमेत घर पछाडिको झाडीमा लुकाएको अवस्थामा बरामद भएको उनले बताए । नियन्त्रणमा भएका अरू ८ जनालाई प्रक्रिया पु¥याएर छाडिने उनले बताए । मृतक यादवले हत्या आरोपी चौधरीलाई आफ्ना केही जग्गा जोतभोग गरी हुन्डामा खान दिएको र पछि उक्त जग्गा चौधरीबाट फिर्ता लिएको रिसइबी पारेर घर जाँदै गरेका यादवलाई चौधरीले बाटोमा हत्या गरेको अनुसन्धानबाट खुलेको छ । यादव पसलबाट खाजा खाएर घरतर्फ जाँदै थिए ।
यस्तै यहि कात्तिक १ मापनि प्रसौनी गाँउपालिका–१ त्रिवेणीस्थित गण्डक नहरमा वीरगन्ज–३ छपकैयाका युवा वीरेन्द्र साह सोनारलाई हत्या गरी फालेको आरोपमा भारतीय युवक विजयकुमार साहलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । २८ वर्षीय विजयले २६ वर्षीय सोनारको हत्या गरी भारतको पञ्जाब पुगेका थिए ।
खर्च गर्न पैसा अपुग भएका बेला पुनः घरतर्फ फर्किंदा उनी दशगजा क्षेत्रबाट पक्राउ परेका थिए । उनी फरार भएको अवस्थामा प्रहरीले निगरानीसँगै फोनबाट ट्रयाक गर्दै आएको थियो । उनी पनि स्वयंले हत्या गरेको प्रहरीको बयानमा स्वीकारेका छन् ।
मृतक वीरेन्द्रकी श्रीमतिसित प्रेम सम्बन्ध रहेको विषयमा वीरेन्द्र र विजयबीच झगडा भएको थियो । त्यही रिसिइबीले विजयले घाँटीमा गम्छा बेरेर वीरेन्द्रको हत्या गरेको प्रहरी उपरीक्षक खड्काले बताए ।
दसगजा नजिकै भारतीय परेउवा गाउँका विजय कहिले पर्साको बहुदरमाई नगरपालिका–९ बिश्रामपुर र कहिले मृतक वीरेन्द्रको घरमा बस्दै आएका थिए ।लक्ष्मी साह/कान्तिपुर