वीरगन्ज,१२कार्तिकःपर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर १ भाथामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई छात्रवृतिका रुपमा विद्यालय पोशाक वितरण गरिएको छ ।
सोमबार विद्यालयमै आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्मका १८० जना बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो । कार्यक्रममा गाँउपालिका अध्यक्ष दिनेश चौधरी र उपाध्यक्ष ममता महत्तो थारुले बालबालिकाहरुलाई पोशाकको कपडा प्रदान गरे ।
नेपाल सरकारले छात्रवृतिका लागि जनही ४ सय रुपैयाँ पठाएकोमा उक्त रकमबाट पोशाकको कपडा खरिद गरि बालबालिकाहरुलाई वितरण गरिएको गाँउपालिका उपाध्यक्ष महत्तोले बताइन् । नगद रकम वितरण गर्नु भन्दा पोशाक नै खरिद गरेर वितरण गर्दा वर्षभरि बालबालिकाले लगाएर विद्यालय आउन पाउने भएकाले नगदको सट्टा पोशाक वितरण गरिएको उनले बताइन् ।
गाँउपालिका अध्यक्ष चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष फरमान मियाँ, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष अर्जुन महत्तो, विद्यालयका प्रधानाध्यापक गोपाल रौनियार,शिक्षक,शिक्षिका लगायतकोपनि सहभागीता थियो ।

