काठमाडौं,६कार्तिकः नेपाली बजारमा आज (मंगलबार ) पनि सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।अस्ति (आइतबार) प्रतितोला १ लाख ६५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ६५ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । हिजोको भन्दा आज ५ रूपैयाँ बढेको चाँदी प्रतितोला २ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग बढ्दा भाउ बढेको बताउँछन्। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिआउन्स (२.६६ तोला) करिब २७ सय अमेरिकी डलर छ। सन् २०२७ सम्म ३ हजार प्रतिआउन्स पुग्ने अन्तर्राष्ट्रिय प्रक्षेपण सन् २०२५ मै पूरा हुने शाक्य बताउँछन्। आगामी ५–६ महिनाभित्र नेपालमा नै सुनको मूल्य प्रतितोला करिब २ लाख पुग्ने उनको भनाइ छ।

