काठमाडौं,१ कार्तिकः खानेपानी मन्त्री प्रदीप यादवले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बाढीले क्षति गरेका खानेपानी मन्त्रालय अन्तर्गतका विभागका संरचनाहरूको काम फास्ट ट्रयाकबाट गर्न निर्देशन दिएका छन् ।
गएको असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पनौती नगरपालिकाकाको वडा नम्बर २ र १२ का खानेपानीका मुहानलगायतका विभिन्न संरचनामा भएको क्षतिको जानकारी लिन बिहीबार मन्त्री यादवले स्थलगत भ्रमण गर्दै भने, “पनौतीमा खानेपानी मन्त्रालयअन्तर्गतका संरचनामा बाढीले ठूलो क्षति गरेको छ । मन्त्रालय मातहतका संरचनाहरूको काम हामी तुरुन्तै सुचारु गर्नेछौँ । अन्य विषयमा आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढ्नेछौँ ।”
मन्त्रालय, विभाग र खानेपानी संस्थानका प्रतिनिधिहरूसँग बैठक गरेर बाढी र पहिरोले गरेको क्षतिको अनुमान बनाउने र तीन दिन भित्र सूचना प्रकाशन गरी काम सुरु गर्ने उनले बताए।बाढीका कारण नेपाल खानेपानी संस्थानअन्तर्गत पर्ने पनौतीमा रहेको मिनिरल वाटर उत्पादन प्लान्टमा पनि ठूलो क्षति भएको भन्दै मन्त्री यादवले सबै संरचनाहरूको काम तुरुन्तै विस्तार गरी बाढीले क्षति गरेका संरचनाहरूको काम फास्ट ट्र्याकमा गर्ने बताए ।
मन्त्री यादवले एकीकृत खानेपानी आयोजनाको बगेको ११ किमी पाइपको विषयमा सहरी विकास मन्त्रीसँग सल्लाह गर्ने जानकारी दिए । उनले भने, “पाइप क्षतिग्रस्त छ । म प्राविधिक त होइन, तर मन्त्रीको जिम्मेवारीले हेर्नु पर्ने विषय हो । म सहरी विकास मन्त्रीलाई आग्रह गर्दै छु कि ११ किमी बगेको पाइपको छानबिन समिति बनाउँ ।”
अनुगमनमा बागमती प्रदेश सांसद कञ्चनचन्द्र बादी, पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी, बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य, स्थानीय, राजनीतिक दलका नेता, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख रामकुमार श्रेष्ठ, र खानेपानी संस्थानका महाप्रबन्धक त्रिदेव श्रेष्ठलगायतका सहभागी रहेको मन्त्री यादवको सचिवालयका प्रशासन सहायक साहेब खानले जानकारी दिए ।

