वीरगन्ज,१९असोजःवीरगन्जको बजाररमा एक साता यता हरियो तरकारीको भाउ अचाक्ली बढेको छ ।यहि असोज ११ र १२ गते दुई दिन अविरल परेको वर्षाले गाँउमा तरकारी खेती डुबानमा परेर क्षति पुर्याएपछि उत्पादन घटेको र बजारमा पर्याप्त तरकारी आउन नसकेका कारण तरकारीको भाउ बढेको व्यपारीहरुले बताएका छन् ।
वीरगन्जको तरकारी बजारमा अहिले परवल खुद्रामा १ केजीको १२० रुपैयाँ, भेन्टा १३० रुपैयाँ,करेला १२० रुपैयाँ,बन्दाकोभी ८० रुपैयाँ, हरियो खुर्सानी २०० रुपैयाँ,बोडी १२० रुपैयाँ,घिरौंला ६० रुपैयाँ,रामतोरिया १२० रुपैयाँ, काउली १४० रुपैयाँ, टमाटर २०० सय रुपैयाँको भाउमा बिक्रीवितरण भइरहेको छ ।
दुई दिनको वर्षाले तरकारी खेती नै डुबानमा परेर टिप्न तयार भइसकेका तरकारीहरु नष्ट भएको र बजारमा मागको तुलनामा कम आइरहेकाले भाउ बढेको वीरगन्जको मिनाबजारका तरकारी पसले हरिओम कुर्मीले बताए ।उता वर्षा र बाढीकै कारण भारतमापनि तरकारीको उत्पादन घटेर कम आइरहेका कारणलेपनि भाउ असमान्य रुपमा बढ्न पुगेको उनले बताए ।
वीरगन्जको बजार मौसमी र बेमौसमी हरियो तरकारीका लागि भारत माथि निर्भर रहदै आएको छ ।त्यस बाहेक पर्सा , बारा र मकवानपुरका ग्रामीण भेगबाट पनि तरकारी यहाको बजारमा आपुर्ति हुदै आएको छ ।
वर्षा र डुबानले तरकारी खेतीमा क्षति पुगेर बजारमा पर्याप्त तरकारी नआइरहेकोको मौका छोपेर व्यपारीहरु आँफैलेपनि मनलाग्दाी भाउ बढाएको अवस्था छ ।किसानबाट पहिलेकै भाउमा खरिद गरिएको तरकारी व्यपारीहरुले वर्षा र डुबानको बहाना बनाएर बजारमा आफनो मनलाग्दी भाउमा बेचिरहेका छन् ।
बजार अनुगमन गर्ने सरकारी निकायलेपनि खाद्यान्न, किराना,लत्ताकपडा पसलमा मात्रै अनुगमन गर्दै आइरहेको तर तरकारी बजारमा भने उनिहरुको ध्यान नै नपुगेका कारण तरकारी व्यपारीहरुले आफनो मनपरी ढंगले तरकारीको भाउ बढाएको उपभोक्ताहरुको गुनासो छ ।
मिनाबजारमै शुक्रबार साँझ तरकारी किन्दै गरेको अवस्थामा भेटिएका वीरगन्ज–१२ मुर्लीका स्थानीय शोभाकर शर्माले भने्,‘ अहिले चाडबाडका बेला बजार अनुगमन गरेको पनि सुनिन्छ तर अनुगमन किराना पसल, खाद्यान्न उद्योगमा मात्रै गरेको समचार आइरहेकाो छ । तर तरकारी बजारमा भाउ वा अनुगमन गरेको आज सम्म सुनेको छैन ।त्यहि भएर तरकारी व्यपारीहरुले अनुचित फाइदा उठाएर मनलाग्दी भाउ बढाएका छन् ।’

