सिमरा,१८ असोजः बाराको कलैया उपमहानगरपालिका १५ स्थित खमवा–मधुवन खण्डमा निर्माणाधिन पुल पसाहा खोलामा आएको बाढीले बगाएको छ ।
दशैं अघि नै ढलान गरिसक्ने लक्ष्य सहित सम्पूर्ण काम सकेर ढलानको अन्तिम तयारी भइरहेका बेला यहि असोज १२ गते पसाहा खोलामा आएको बाढीले पुल बगाएको स्थानीय राधेश्याम सहनीले जानकारी दिए ।
सडक विभागको लागतमा निर्माणाधीन उक्त पुल मेरिना कन्ट्रक्सन÷नेशनल इन्स्ट्रक्टर जेभीले ठेक्का लिएर काम गरिरहेको थियो । पुल निर्माण गरिरहेको मेरिना÷नेशनल जेभीका बालगोपाल कँडेलका अनुसार ढलान गर्न ठिक्क पारेको पुल बगाउँदा झण्डै १ करोड रुपेयाँ भन्दा बढीको क्षती भएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष भोरिक यादवले निर्माणाधीन पुल बाढीले बगाउँदा ठेकेदार कम्पनीले ठुलो नोक्सानी व्यहोरेको बताए।साथै स्थानीयबासीलाई समेत पुलबाट हिंड्न पाउने समय पछि सरेकोमा उनले दुःखेसो गरे ।
कलैया उपमहानगरपालिका र करैयामाई गाउँपालिका जोड्ने उक्त पुल भत्कँदा स्थानीयबासी दुःखी बनेका छन् ।

