Madhes Khabar
राजनीति

उपेन्द्र यादवको हैकमवादी शैलीका कारण पार्टी फुटाउनु परेको हो :खानेपानी मन्त्री यादव

वीरगन्ज,०६असोजः खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी (जसपा) ले जनता र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन् ।

पर्साको पर्सागढी नगरपालिका – ८ हरपुरमा आइतबार आयोजित कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै जसपाका उपमहासचिव समेत रहेका मन्त्री यादवले जसपाले जनताको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताए ।
यादवले भने,‘जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेको छ । हाम्रो पार्टीले नीतिगत रूपमै जनताको हितमा काम गरिरहेको छ ।मुलुकलाई सही मार्गमा लैजान सक्षम नीति र कार्यक्रम अघि सारेको छ ।’

जसपा नेपालसँग अलग्गिएर जसपा गठन गर्नु पछाडिको कारण उपेन्द्र यादवको गलत नेतृत्व र हैकमवादी शैली भएको उनले बताए । यादवले भने, ‘उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले जनताको वास्तविक समस्या समाधान गर्न असफल भएको थियो । उहाँको पार्टीले केवल नारामै सीमित रहेर जनतामा भ्रम उत्पन्न गरेको छ । मधेसको अधिकार दिलाउने नाममा पटक–पटक सत्तासँग सम्झौता गरेको छ ।’

पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) समेत रहेका यादवले स्थानीय स्तरमा देखिएका विकास निर्माणका चुनौतीहरू, विशेष गरी खानेपानी र सरसफाइका समस्याहरू समाधान गर्न पार्टीका जनप्रतिनिधिहरूसँग पनि अन्तरकृया गरे । उनले पर्सामा देखिएका खानेपानीका समस्याहरू समाधान गर्न मन्त्रालयले दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बताए ।

कार्यक्रममा शनिबारमात्रै जसपामा प्रवेश गरेका जसपा नेपालका पूर्व जिल्ला सचिव सचिव तबरेज अहमदले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको नकारात्मक नेतृत्व शैलीले आफू र अन्य नेताहरूले पार्टी छोड्न बाध्य भएको बताए ।उनले भने,‘जसपा नेपालमा रहँदा जनताका समस्याहरूलाई प्राथमिकतामा राखेर काम भएको देखिनँ । पार्टीले जनअपेक्षा अनुसार प्रगति गर्न सकेन, त्यसैले मैले जसपा पार्टीमा प्रवेश गर्ने निर्णय गरेँ ।’

अहमदले थपे,‘पार्टीभित्र लोकतान्त्रिक प्रक्रियाको अभाव, अध्यक्षको अराजक र असन्तुलित निर्णयले गर्दा हामी जसपा नेपालप्रति निराश भएका हौँ । उपेन्द्र यादवको नेतृत्वमा सङ्गठनको मूल सिद्धान्त र पार्टीका उद्देश्यसँग असङ्गत गतिविधिहरूले असन्तुष्टि पैदा ग¥यो । त्यसैले, हामीले पार्टी परित्याग गर्ने निर्णय ग¥यौँ ।’

कार्यक्रममा पर्सागढी – ६ का वडाध्यक्ष नवल किशोर साहले मन्त्री यादवलाई पर्सागढी नगरपालिकामा खानेपानीको अवस्थाबारे जानकारी गराउँदै स्थानीय स्तरमा खानेपानी तथा सरसफाइका समस्याहरू समाधान गर्न सरकारको सहयोगको अपेक्षा व्यक्त गरे ।त्यस्तै पर्सागढी – ९ का वडाध्यक्ष रामबढाइ यादवले पार्टीलाई स्थानीय स्तरमा अझै सशक्त बनाउन यस प्रकारका छलफलहरू आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी पर्सागढी नगरपालिकाका कार्यपालिका सदस्य एंव जसपाका नेता असलम आलमले स्थानीय विकास निर्माण र सरसफाइका क्षेत्रमा पार्टीको भूमिका अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमको अन्त्यमा मन्त्री यादवले पार्टी कार्यकर्ताहरूप्रति आभार व्यक्त गर्दै भने, ‘पार्टीको सङ्गठन सुदृढ पार्न र मुलुकको समृद्धिका लागि हामी सबैले एकजुट भएर अघि बढ्नुपर्छ । स्थानीय समस्याहरूलाई समाधान गर्दै जनताको अपेक्षालाई सम्बोधन गर्न हामी निरन्तर लागिपर्नेछौँ ।’

कार्यक्रममा वीरगन्ज – १३ का पूर्व वडाध्यक्ष तुफान अन्सारी, नेता असलम अन्सारी, विद्यार्थी नेता एजाज बाबु राँकी, डा. आमिर आलम, आमिर मन्सुरीलगायतका व्यक्तिहरूको पनि सहभागिता रहेको थियो ।

Related posts

जसपाको चुनावी घोषणापत्र : गरिबी र बेरोजगारी अन्त्य गरिने

MadhesKhabar

मतदातासंग भोट माग्दै अजय चौरसियाले भने : काँग्रेसलाई जिताउनु देशकै आवश्यकता हो

MadhesKhabar

प्रदेश सरकारलाई क्षेत्रीको प्रश्न : किसानको समस्या बारे सरकारले के सोचिरहेको छ ?

MadhesKhabar

Leave a Comment