वीरगन्ज,३चैतः चैत ५ गते वीरगन्जकोे ठाकुरराम बहुमुखी क्याम्पस र वीरगन्ज नर्सिङ क्याम्पसमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) को निर्वाचनमा नेपाली कांग्रेसका भातृ संगठन नेविसंघले जित्ने दाबी कांग्रेस र नेविसंघ पर्साका नेताहरुले गरेका छन् ।
नेविसंघबाट ठाकुरराम क्याम्पसमा विकास मण्डल धानुक र वीरगन्ज नर्सिङ क्याम्पसमा दियान्सु श्रेष्ठको प्यानल चुनावी प्रतिस्पर्धामा छ । कांग्रेस पर्साका सहसचिव नविन सिंहले यसपालिको स्ववियु निर्वाचनम दुवै क्याम्पसमा नेविसंघले बाजी मार्ने दाबी गरे । ठाकुरराम क्याम्पसको विगतका स्ववियु निर्वाचनको इतिहास स्मरण गराउँदै उनले भने,‘ ठाकुरराम क्याम्पसमा नेविसंघलाई टक्कर दिने यसपालिपनि कुनै संगठन वा समुह नै छैन । नेविसंघको एकतर्फी जित हुन्छ ।
विगत १६ बर्षदेखि ठाकुरराम क्याम्पसमा स्ववियु नहुदाँका बखतपनि नेविवसंघका विद्यार्थी नेताहरुले सदैव विद्यार्थीका हकहितका लागि क्याम्पस प्रशासनसंग लड्दै आएको, विद्यार्थीका हरेक सुखदुखमा साथ दिदैं आएको कारण अहिले एकपक्षीय लहर नेविसंघको पक्षमा देखिएको जिकिर सिंहले गरे ।
ठाकुरराम क्याम्पस र वीरगन्ज नर्सिङ क्याम्पपसमा नेविसंघका सबै उम्मेदवारहरु सक्षम र योग्य रहेका कारण उनिहरुप्रति विद्यार्थीको भरोसा रहेको भन्दै उनले जित नेविसंघकै हुनेमा आँफुहरु विश्वस्त रहेको बताए ।
यस्तै नेविसंघ पर्साका सभापति रमेश यादवले पनि वीरगन्जका दुवै क्याम्पसमा नेविवसंघकै जित हुने दाबी गरे । ठाकुरराम क्याम्पसमा अरु संघसंगठन र समुहले स्ववियु चुनावका बेलामात्रै अनुहार देखाउने गरेको तर नेविसंघका विद्यार्थी नेताहरु भने सदैव क्याम्पसमा खटिएर विद्यार्थीका सुखदुखमा साथ रहदैं आएकाले नेविसंघप्रति विद्यार्थीहरुको आस्था र भरोेसा कहिल्यै नटुटेको उनले बताए ।
चैत ५ मा हुने मतदानमा दुवै क्याम्पसमा फेरि नेविसंघको जितको झण्डा फहराउने ठोकुरवासमेत उनले गरे । जिल्लाका कांग्रेस नेताहरुपनि स्ववियु निर्वाचनमा नेविसंघका लागि जिताउन कम्मर कसेर लागिसकेको भन्दै उनले भने,‘ अहिले नेविसंघका उम्मेदवारहरुप्रति जुन जनलहर देखिएको छ त्यसबाट हामी निक्कै उत्साहित छौं । शतप्रतिशत नतिजा हाम्रै पक्षमा आउनेमा ढुक्क छौं ।’

