Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्ज नाकाबाट १४ करोडभन्दा बढीको नेपाली अचार विदेशमा निर्यात

वीरगन्ज,१३भदौंःवीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट गत आर्थिक वर्ष २०८०/८१मा १४ करोड रुपैयाँभन्दा बढी मूल्यको विभिन्न नेपाली ब्रान्डका अचार तेस्रो मुलुकमा निर्यात भएको छ ।

सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा १४ करोड २६ लाख ४ हजार ४ सय २० रुपैयाँ बराबरको १ लाख ६९ हजार किलो नेपाली अचार विदेश निर्यात भएको हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने यो नाकाबाट १० करोड ३ लाख रुपैयाँ बराबरको १ लाख ४६ हजार किलो अचार निकासी भएको थियो ।

भन्सार कार्यालयका प्रवक्ता सुशीलप्रसाद शर्माले सुक्खा बन्दरगाह नाका हुँदै बर्षेनि नेपाली अचारको निकासी बढ्दो क्रममा रहेको बताए । ‘तेस्रो मुलुकमा बर्सेनि विभिन्न नेपाली ब्रान्डको माग र त्यसैअनुरुप निकासीसमेत बढ्दो क्रममा छ,’ उनले भने, ‘पछिल्लो केही वर्षयता नेपाली महिलाहरुमा बढेको उद्यमशिलता र उनीहरुले उत्पादन गरेका विभिन्न ब्रान्डका अचारले तेस्रो मुलुकमा बस्ने नेपाली उपभोक्ताहरुबीच लोकप्रियता कमाएको छ, त्यसैको परिणामस्वरुप नेपाली अचारको बर्सेनि निकासी बढेको हुनसक्छ ।’

नेपालबाट अचार निकासी हुने मुलुकमा अस्ट्रेलिया पहिलो नम्बरमा रहेको शर्माले जानकारी दिए । नेपाली उत्पादनको निकासीलाई प्रोत्साहन गर्न न्युनतम भन्सार शुल्क लाग्ने गरेको शर्माले बताए । ‘स्वदेशी उत्पादनको निकासीलाई प्रोत्साहित गर्न यस्तो नीति लिइएको हो,’ उनले भने, ‘अचार निकासी गर्दा पनि प्रतिफारम १ सय रुपैयाँ र १३ रुपैयाँ सेवा शुल्कमात्र गरी १ सय १३ रुपैयाँ शुल्क लाग्छ ।’  साभार : ईकान्तिपुरबाट

Related posts

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

बैंकको चर्को ब्याजबाट पिडितहरुले वीरगन्जमा गरे प्रदर्शन

MadhesKhabar

कलैया उपमहानगरपालिकाकाे बजेट १ अर्ब ५४ कराेड

MadhesKhabar

Leave a Comment