काठमाडौं,९ भदौं : संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीबिच सरकारले सञ्चालन गर्दै आएका योजनाहरूलाई सरल र प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न परस्पर सहयोग गर्ने विषयमा भद्र सहमति भएको छ ।आइतबार खानेपानी मन्त्रालयमा भएको शिष्टाचार भेटमा दुवै मन्त्रीबिच उक्त सहमति भएको हो ।
मन्त्रालयकी सहसचिव तथा प्रवक्ता मिना श्रेष्ठका अनुसार भेटका क्रममा खानेपानी मन्त्री यादवले शिवपुरी राष्ट्रिय निकुञ्जबाट बागमती नदीको पानी ल्याउने योजना कार्यान्वयनका लागि वन मन्त्रालयको सहयोग आवश्यक भएको जनाउँदै सहजीकरणको लागि वनमन्त्री शाहीसंग आग्रह गरेका थिए ।खानेपानी मन्त्री यादवले सुर्खेतस्थित भेरी पम्पिङ परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) स्वीकृत गराउने प्रक्रिया छिटो सम्पन्न गर्नपनि वन मन्त्री ठकुरीसँग आग्रह गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिइन् ।
वन मन्त्री शाहीले यस कार्यमा सहयोग पु¥याउन आवश्यक निर्देशन दिने प्रतिबद्धता जनाउँदै खानेपानी मन्त्रालयलाई आवश्यक पर्ने सबै प्रकारका सहयोग उपलब्ध गराउने आश्वासन दिए ।वन ऐन संशोधन गर्दा खानेपानी क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने कुरामापनि मन्त्री ठकुरीले जोड दिए । भेटका क्रममा बुटवलमा निर्माणाधीन खानेपानी आयोजनाको जग्गा व्यवस्थापन लगायतका विषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिइन् ।
भेटवार्तामा खानेपानी मन्त्रालयकी सचिव प्रमीलादेवी शाक्य बज्राचार्य, वन मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक पौडेल, र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, मन्त्री यादवका सल्लाहकार अवधेश कुमार दासलगायतका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

