
खानेपानी मन्त्री प्रदीप यादवले आज बालाजु पानीपोखरी बालाजु पार्क, माछापोखरी तथा कीर्तिपुरमा निर्माण भइरहेका खानेपानीका नयाँ निर्माणाधीन ट्याङ्कीहरूको निरीक्षण एवम् अवलोकन भ्रमण गरेका छन् ।
अवलोकन भ्रमणका क्रममा मन्त्री यादवले बालाजु पानीपोखरी बालाजु पार्कमा निर्माण भइरहेका १० लाख र ५ लाख लिटर क्षमताका खानेपानी ट्याङ्कीहरूका काम समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
यसै गरी मन्त्री यादवले सुन्दरी जलबाट काठमाडौँ लिङ्क गर्ने कनेक्टीङ पाइप माछापोखरीमा फुस्किएर पानी वितरणमा बन्द भएको खबर आएपछि बुधबार उक्त क्षेत्रमा पुग्नु भइ काम तत्काल सुरु गरी पानी वितरण गर्न कर्मचारीलाई निर्देशन दिए ।

उनले भने , “कनेक्टीङ पाइप माछापोखरीमा फुस्किएर पानी वितरणमा बन्द भएको रहेछ, आकाशको पानी थाक्ने बित्तिकै काम सुरु गर्नुस्, जनतालाई पानी वितरण गरी हाल्नुस् ।”
यसै गरी मन्त्री यादवले आजै त्रिभुवन विश्वविद्यालयमा टियु कीर्तिपुर निर्माण भइरहेको खानेपानीको नव निर्मित ट्याङ्कीको पनि आज निरीक्षण तथा अवलोकन गर्नु भएको थियो । सो क्रममा मन्त्री यादवले टियु खेल मैदानमा खेल हेर्न तथा अन्य कामका लागि आउने दर्शकहरूका लागि पानीको व्यवस्थापन गर्न निर्देशन दिए ।
उनले भने , “दर्शक लगायत खेलाडीहरूका लागि यही ट्याङ्कीबाट पानीको व्यवस्थापन गर्नुस्, चाँडो काम सकेर दर्शकले चाडै खानेपानी प्रयोग गर्न पाउन, यही मेरो आग्रह छ ।” यसै गरी मन्त्री यादवले काठमाडौँको विभिन्न स्थानमा पानीको चुहावट भइरहेको बताउँदै त्यसलाई नियन्त्रण गरी जनताका घरमा शुद्ध र सफा पानी वितरण गर्न समेत निर्देशन दिएका हुन् ।
जनताले शुद्ध खानेपानी खान पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको बताउँदै मन्त्री यादवले भने , “हामी जनताका सेवक हौँ, जनतालाई शुद्ध पानी वितरण गर्नु हाम्रो दायित्व हो ।” यसै गरी मन्त्री यादवले आफू कुरा भन्दा पनि कामलाई प्राथमिकता दिने व्यक्ति भएको बताउँदै समय बिताउनु भन्दा पनि काम गरेर देखाउन तर्फ लाग्न कर्मचारीहरूसँग आग्रह गरे ।


