वीरगन्ज,०५साउनः पर्सामा सवारी दुर्घटनाको संख्या ह्वात्तै बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो आर्थिक वर्षको तुलानामा झण्डै ६६ प्रतिशतले बढी सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । यस्तै सवारी दुर्घटनाको संख्यासंगै मृत्यु हुने र घाइते हुनेको संख्यापनि बढेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा पर्सामा ५ सय ४४ वटा सवारी दुर्घटना भएको र त्यसमा ७ सय ९६ वटा सवारीसाधन परेका छन् । ती दुर्घटनामा परी ५१ जनाको मृत्यु भएको छ भने ८ सय ४ जना घाइतेपनि भएका छन् । ८ सय ४ जना घाइतेमध्ये गम्भीर घाइते हुनेको संख्या ८४ र सामान्य घाइते हुनेको संख्या ७ सय २० रहेको छ ।
जबकि अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पर्सामा ३ सय ५९ वटा मात्र सवारी दुर्घटना भएका थिए ।ती दुर्घटनामा ४ सय ६ वटा सवारीसाधन परेका थिए । अघिल्लो आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा परेर ३९ जनाकोमात्रै मृत्यु भएको थियो भने ४ सय ९९ जना घाइते भएका थिए ।
गत आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा सबै भन्दा बढी ५ सय ५४ वटा मोटरसाइकल परेका छन् ।यस्तै ५७ वटा टेम्पु, ५४ वटा कार÷जीप, २९ वटा ट्याक्टर, २९ वटा ट्रक ,२८ वटा ट्याक्टर र १० वटा बस दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।
पर्सामा सवारी दुर्घटनाको संख्या बढनुमा दुई÷तीन वटा कारणहरु रहेको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले बताए । उनले भने,‘पहिले पहिले गाँउहरुमा हुने स–साना दुर्घटनाको रेकर्ड प्रहरी रेकर्डमा आउँदैनथ्यो । तर अचेल कुनैपनि ठाँउमा साना सानो दुर्घटना हुदाँपनि त्यसको रेकर्ड प्रहरीसम्म आइपुग्छ ।यहि कारणले हाम्रो डाटामा दुर्घटनाको संख्या ह्वात्तै बढेको देखिन गएको हो ।’
अर्को जिल्लामा सवारी साधानको संख्या पनि थपिदै गएकोले दुर्घटनाको संख्यापनि बढ्न थालेको उनले बताए ।यसका साथै गाँउ गाँउमा नयाँ सडक बन्दै गएको र त्यहाँ सवारीसाधनको आवागमन बढेका काारणलेपनि दुर्घटनाको संख्या बढ्न थालेको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले तर्क दिए ।
जिल्लामा दुर्घटनाको संख्या न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न संघसंस्थाको समन्वयमा समुदाय, विद्यालय र सडकमैपनि ट्राफिक नियम पालनासम्बन्धि सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न थालेको उनले बताए ।