वीरगंज १,फागुन:पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–५ झिंगना टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुसँग स्थानीय मतदाताले प्रत्यक्ष संवाद गर्दै स्वास्थ्य, शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
घरदैलो कार्यक्रममा सहभागी स्थानीयले छोराछोरीको गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा तथा कृषिमा मल–खाद र बीउ–बिजनको सहज व्यवस्था गर्न उम्मेदवार कानुलाई अनुरोध गरेका थिए।
उम्मेदवार कानुले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्राथमिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पचरुखी टोलसहित पर्सागढी क्षेत्रमा सुधार,
कृषकलाई समयमै मल र सिंचाइका लागि पानी उपलब्ध गराउने जस्ता विषयलाई प्राथमिकतामा राखेर पहल गरिने बताए।

घरदैलो कार्यक्रममा स्थानीय बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
स्थानीयवासीहरूले “यसपालिको मत परिवर्तनका लागि” भन्ने नारासहित उम्मेदवार कानुलाई समर्थन जनाउँदै यस निर्वाचनले समाजमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गरे। बेरोजगार युवालाई सीप तालिम र रोजगारी योजना
कानुले बेरोजगार युवाहरूलाई स्थानीय स्तरमै पशुपालन सम्बन्धी प्राविधिक सीप तालिम प्रदान गरी रोजगारी सिर्जना गर्ने योजना अघि सार्दै निर्वाचित भएपछि यी आधारभूत समस्या चरणबद्ध रूपमा समाधान गरिने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिताले उम्मेदवार कानुको चुनावी अभियानलाई थप बल मिलेको छ।

