वीरगन्ज,२साउन:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर वीरगन्जमा भईरहेकाे खानेपानीकाे संकट बारे ध्यानाकर्षण गराएका छन् ।नवनियुक्त खानेपानी मन्त्री यादवलाई बधाई दिन बुधबार मन्त्रालयमा पुगेका मेयर सिंहले मन्त्री यादवको सफल कार्यकालको शुभकामनापनि दिए।त्यसै अवसरमा भएकाे छलफलमा मेयर सिंहले वीरगन्ज महानगरका विभिन्न वडामा पाेहाेर साल देखि चापाकलहरु सुकेर खानेपानीकाे संकटसंग वीरगन्जबासी जुधिरहेकाे बताए ।खासगरी महानगरका शहरी वडामा खानेपानीकाे संकट अहिलेपनि विद्यमान नै रहेकाले पानीकाे आपूर्ति सम्बन्धी समस्या र पानी वितरण प्रणालीमा सुधार आवश्यकताको बारेमा मन्त्री यादवलाई विस्तृत रुपमा जानकारी गराए।
मेयर सिंहले वीरगन्जमा पानीको समस्या समाधानका लागि आवश्यक पर्ने संरचनात्मक सुधार, नयाँ परियोजनाहरूको थालनी र दीर्घकालीन योजनाहरूको कार्यान्वयनका लागि मन्त्री यादवबाट सहकार्यको अपेक्षा व्यक्त पनि गरे ।
जवाफमा मन्त्री यादवले वीरगन्जमा विद्यमान पानी संकटकाे समस्यालाई प्राथमिकतामा राख्दै समाधानका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताए ।उनले मन्त्रालयको तर्फबाट यथासम्भव चाँडो र प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै पानीकाे आपूर्ति व्यवस्थापनमा सुधार गर्नका लागि मेयर सिंहले दिएका सुझावहरूको सराहनापनि गरे ।

