काठमाडौं,३१असारःप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा लोसपाका सांसद शरतसिंह भण्डारी श्रममन्त्रीमा नियुक्त भभका छन् । योसँगै भण्डारी पञ्चायतकालदेखि गणतन्त्रसम्म आइपुग्दा १३औं पटक मन्त्री बनेका छन् ।
ओली नेतृत्वको मन्त्रिपरिषद्मा धेरैपटक मन्त्री बन्ने नेतामा उनी पर्छन् ।महोत्तरीबाट यिनले जति पटक चुनाव जिते लगभग त्यति नै पटक दल पनि बदलेका छन् र मन्त्री पनि बनिरहेका छन् ।
२०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भण्डारी त्यसयताका कुनै पनि निर्वाचनमा एउटै दलबाट उठेका छैनन् । हरेक पटक दल बदल्दै चुनाव उठ्दै, जित्दै र मन्त्री बन्दै आएका छन् ।
कति चोटी मन्त्री बने ?
शरतसिंह भन्डारीको मन्त्री पदको पहिलो खाता २०४४ फागुनमा खुल्यो । २०४३ असार २ गते पञ्चायत व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले २०४४ साल फागुनमा मन्त्रिमण्डल पुनर्गठन गर्दा फागुनमा भण्डारी पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री बने । त्यसको एकवर्षपछि २०४५ कात्तिकमा भण्डारी वाणिज्य राज्यमन्त्रीमा बढुवा भए ।
२०४६ सालमा पञ्चायत व्यवस्थाको पतन र बहुदलीय व्यवस्थाको स्थापनासँगै करिब ५ वर्ष यिनको राजनीतिक चढाव रोकिन पुग्यो । पञ्चायत व्यवस्थाका समर्थकहरुले चुनाव उठ्ने हिम्मतै नगरेकाले यिनको पनि २०४८ सालको आम निर्वाचनमा उस्तो चहलपहल देखिएन । तर २०५१ कात्तिकमा सम्पन्न मध्यावधि निर्वाचनमा भने उनी फेरि महोत्तरीबाट स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन पुगे । त्यसपछि फेरि उनलाई मन्त्री बन्ने अवसर आयो ।
मनमोहन अधिकारीको अल्पमतको सरकार ढलेपछि २०५२ भदौमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्न पुगे । देउवाको ‘जम्बो’ मन्त्रिपरिषद्मा २०५२ मंसिरमा भण्डारी बिना विभागीय राज्यमन्त्री बने । २०५३ पुस २४ गते बिनाविभागीय मन्त्रीमा बढुवा भए । देउवा सरकार विघटन भई लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा एमाले सम्मिलित सरकार गठन हुँदा भने भण्डारी मन्त्री बनेनन् ।
सूर्यबहादुर थापा प्रधानमन्त्री बनेको मन्त्रीपरिषदमा २०५४ असोजमा भण्डारी युवा, खेलकूद तथा संस्कृति मन्त्री बन्न सफल भए । २०५६ सालमा सम्पन्न आम निर्वाचनमा भण्डाारी फेरि महोत्तरीबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । त्यसबेलासम्म भण्डारी कांग्रेस बनिसकेका थिए । कांग्रेसबाट चुनाव उठेर जिते र कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित मन्त्रिपरिषद्मा २०५६ जेठमा भण्डारी पुनः युवा, खेलकूद तथा संस्कृति मन्त्रीमा नियुक्त हुन पुगे । फेरि भट्टराईले मन्त्रिपरिषद् पुनर्गठन गर्दा २०५६ फागुनमा भण्डारीको विभाग फेरियो र उनि स्वास्थ मन्त्री बने ।
शेर बहादुर देउवाको नेतृत्त्वमा बनेको मन्त्रिपरिषदमा २०५८ साउनमा फेरि भण्डारी स्वास्थ मन्त्री बने। २०६६ जेठमा गठित माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्मा भण्डारी पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न सफल भए । त्यसबखत उनी कांग्रेस छोडेर मधेसी जनअधिकार फोरममा लागि सकेका थिए । र, त्यही पार्टीबाट मन्त्री बने ।
२०६८ भदौमा बाबुराम भट्टराईको नेतृत्वमा गठित मन्त्रिपरिषद्मा भण्डारी रक्षामन्त्री बन्न सफल भए । त्यसबेलासम्म यिनी मधेसी जनअधिकार फोरम (उपेन्द्र यादव) त्यागेर विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा गइसकेका थिए । तराई मधेसका युवाको नेपाली सेनामा सामूहिक प्रवेश नभए तराई टुक्रिने अभिव्यक्ति दिएपछि उनले पदबाट राजीनामा दिनुपरेको थियो ।
जब नेकपा विभाजनको डिलमा पुग्यो त्यसबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ २१ मा मन्त्रिपरिषद् पुनर्गठन गरे जसमा भण्डारीलाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्यसबेला उनी जसपाबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका थिए । तर यो पटक भने उनी जम्मा १७ दिनमात्रै मन्त्री भए ।
पछिल्लो पटक उनी २०७९ साल चैतमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए । दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सरकार बनाएपछि भण्डारीको सत्ता यात्रा केही समयका लागि रोकिएको थियो । सोमबार पुनः उनी ओली नेतृत्वको सरकारमा मन्त्री बनेका छन् । लोसपामा अध्यक्ष महन्थ ठाकुर, भण्डारी, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरी संघीय सांसद छन् । तर अध्यक्ष ठाकुरको रोजाइमा पुनः भण्डारी नै परेका हुन् ।साभार : कान्तिपुरबाट

