काठमाडौं,२२असार: स्पेन, युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक जर्मनीलाई २–१ ले पराजित गर्दै स्पेनले सेमिफाइनलको यात्रा तय गरेको हाे ।
निर्धारित समयमा १/१ गाेलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा स्पेनका लागि माइकल मेरिनोले गोल गर्दै टोलीलाई जित दिलाए ।
त्यसअघि खेलको ५१ औं मिनेटमा स्पेनका लागि दानी ओल्मोले गोल गर्दै अग्रता दिलाएका थिए । उक्त अग्रता स्पेनले जोगाउन सकेन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फ्लोरियन विर्ट्जले खेलको ८९ औं मिनेटमा गोल गर्दै जर्मनीलाई बराबरीमा पुर्याएका थिए ।
स्पेनले राउण्ड १६ मा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको थियो । यता राउण्ड १६ को खेलमा डेनमार्कलाई २–० ले पराजित गरेको जर्मनीको यात्रा क्वाटरफाइनलमै सिमित बनेको छ ।
यस युरोकपमा स्पेन प्रमुख उपाधि दाबेदार टोली हो । स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ ।स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।

