Madhes Khabar
स्वास्थ्य

स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँछौं : स्वास्थ्यमन्त्री यादव

काठमाडौं,१६ असार:असारःस्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आइतबार बिहानै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भ्रमण गर्दै महाशाखाका विभिन्न शाखाहरूको प्रगति, चुनौती र आगामी योजनाहरूको बारेमा जानकारी लिएका छन् ।

मन्त्री यादवले महाशाखाअन्तर्गतका नसर्ने रोग, कीटजन्य रोग, कुष्ठरोग तथा जुनोटिक रोग, र रोग निगरानी शाखाका प्रमुख कार्यहरू र तिनको हालसम्मको प्रगतिका साथै कामका दौरानमा आउने चुनौतीहरूको बारेमा जानकारी लिएका हुन् । महाशाखा निर्देशक डा. यदुचन्द्र घिमिरेले जनशक्तिको अभाव, भवन कोठाको कमी, सीमा नाकास्थित हेल्थ डेस्कका कर्मचारी व्यवस्थापन र पारिश्रमिक भुक्तानीका लागि रकम अभाव जस्ता समस्या मन्त्री यादवलाई जानकारी गराए।

डा. घिमिरेले समस्या समाधानका लागि राष्ट्रिय प्राथमिकताका कार्यक्रमहरूमा थप लगानी गर्नुपर्ने, कार्यक्रमको एकरूपता र दोहोरोपना न्यूनीकरणका लागि समन्वय र सहकार्य गर्नुपर्ने सुझाव दिए। यसबारेमा मन्त्री यादवले महाशाखाको काम सन्तोषजनक रहेको बताउँदै महाशाखा र मातहतका शाखाहरूलाई सशक्त बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गरे ।

मन्त्री यादवले महाशाखाको जनशक्ति र बजेट अभावको समस्या समाधान गर्न हर सम्भव प्रयास गर्ने प्रतिबद्धता जनाए।साथै, उनले डेंगी नियन्त्रण र रोकथाम, हत्तिपाइले रोग निवारण, औलो निवारण, कालाजार निवारण लगायतका रोगहरू विरुद्ध जारी कार्यक्रमहरूलाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने अभियानलाई तीव्र पार्न निर्देशनपनि दिए ।

“महाशाखाका चुनौतीहरूको समाधान गर्दै, जनस्वास्थ्यको सुधारमा महत्वपूर्ण कदम चाल्न हामी सबै प्रतिबद्ध छौँ,” मन्त्री यादवले भने, “हामीले बजेट र जनशक्ति व्यवस्थापन गर्दै स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछौँ ।”

छलफलमा मन्त्रालयका सचिव हरि प्रसाद मैनाली र स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. सङ्गीता मिश्रलगायत विभाग र विभिन्न महाशाखाका प्रतिनिधिहरूकोपनि उपस्थिति रहेको थियो ।

 

Related posts

बयोधा अस्पतालको कार्यक्रममा ८६ जनाद्धारा रगत दान

MadhesKhabar

सखुवाप्रसाैनीलाई जिल्लाकै नमुना पालिका बनाउँछु: अध्यक्ष यादव

MadhesKhabar

सडकमा प्रदर्शन गर्दै वीरगन्जका डाक्टरहरुले भने : कि सुरक्षा दे, कि विदेश जाने भिसा दे

MadhesKhabar

Leave a Comment