Madhes Khabar
समाचार

बालयौन शोषणमा बम्जन दोषी ठहर

सर्लाही,११असारःसर्लाही जिल्ला अदालतले तपस्वि भनिएका रामबहादुर बम्जनलाई बालयौन शोषण कसुरमा दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको हो । बम्जनलाई सजाय निर्धारणका लागि असार १७ मा पेसी तोकिएको अदालतका स्रेस्तेदार सदन अधिकारीले बताए ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् । त्यही मुद्दाका आरोपित जितबहादुर तामाङ र ज्ञानबहादुर बम्जनले भने सफाइ पाएका छन् । पीडितले २०७३ सालमा आश्रममा रहेको बेला बम्जनले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

२०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बम्जनविरुद्ध पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएको थियो । अभियुक्त बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबी गरेको छ ।

बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतले २०७७ असार २१ मा पक्राउ पुर्जी जारी गरेको थियो । लामो समयसम्म फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत पुस २४ मा बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । आफूलाई ‘लिटिल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

बम्जन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए । उनले त्यहाँ आफू तपस्यारत रहेको बताउँदै आएका थिए । पछिल्लो समय भने बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २० रोपनीभन्दा बढी जंगल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए । सिआइबीको टोलीले उनलाई पक्राउ गर्न २०७७ असार ४ मा छापा मारेको थियो । तर त्यतिबेला उनी प्रहरीको टोली पुग्नुअघि नै भागिसकेका थिए ।

प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जंगलमा रहेको उनको आश्रममा छापा हानेको थियो । प्रहरीले त्यहाँ बेपत्तामध्येका एक हेटौंडाका सञ्चलाल रुम्बाको हत्या भएको हुन सक्ने आशंका गरेको थियो । प्रहरीले करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा ९ वटा नुनको प्याकेट भेटेको थियो । शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशंका गरे पनि थप प्रमाण फेला परेन ।

बम्जनको आश्रममा पुगेकाहरू धमाधम हराउन थालेपछि उनी अनुसन्धानको दायरामा तानिएका थिए । २०७५ पुस ९ मा पीडितहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बम्जनबाट बेपत्ता पारिएकाहरुको खोजीमा सरकारले तत्परता देखाउनुपर्ने माग राखेका थिए । पत्रकार सम्मेलनमा नुवाकोट म्यागङ गाउँपालिका–३ देउरालीकी गंगामाया तामाङले २०६८ सालमा बम्जनको आश्रममा गएकी आफ्नी साइँली बहिनी हराइरहेको बताएकी थिइन् ।

हेटौंडाका महेन्द्र वाइबाले २०७२ चैत १४ मा बम्जनको सिन्धुलीस्थित आश्रममा पुगेका आफ्ना बाबु सञ्चलाल त्यसपछि हराएको बताएका थिए । हेटौंडाकै वीरबहादुर रुम्बाकी छोरी फूलमाया २०६८ मा बम्जनबाट प्रभावित भएपछि उनकै पछि लागेकी थिइज् । तर, उनी पनि सम्पर्कमा नरहेको पीडित परिवारको भनाइ छ ।साभार : कान्तिपुरबाट

Related posts

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको राष्ट्रिय सम्मेलनबाट २५ सदस्यीय केन्द्रिय समिति चयन

MadhesKhabar

बाराको सिम्रौनगढबाट ठूलो परिमाणमा लागू औषध बरामद,तस्कर फरार

MadhesKhabar

आठ महिनामा विधुत प्राधिकरण वीरगन्ज वितरण केन्द्रको बक्यौता करिब ४ अर्ब

MadhesKhabar

Leave a Comment