वीरगन्ज,८असार: वीरगन्जमा शनिबारदेखि तीन दिने डिजिटल पत्रकारिता तालिम सुरु भएको छ।वीरगन्ज महानगरपालिकाको सहयोगमा द मधेश टाइम्स मिडिया प्रा.लि. ले आयाेजना गरेकाे तालिमकाे उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विरुवा भएको गमलामा पानी हालेर गरेका थिए ।
उद्घाटन समारोहमा बोल्दै मेयर सिंहले पत्रकारिता क्षेत्रमा सुधारको आवश्यकता रहेको औंल्याउँदै, पत्रकारहरुको हकहितका लागि महानगर सधैं तत्पर रहेको बताए। उनले तालिमले स्थानीय पत्रकारहरुलाई आधुनिक प्रविधिको प्रयोग र चुनौतीहरूसँग जुध्न आवश्यक सीप र ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गरे।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले पत्रकारहरुले पत्रकार आचारसंहिताकाे पालना गरेर कलम चलाउनु पर्नेमा जाेड दिए।
तालिममा प्रमुख प्रशिक्षक ओम प्रकाश खनालले डिजिटल पत्रकारिताका महत्व, यसमा आउने चुनाैती बारे चर्चा गरे ।
उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाकाे आम सञ्चार प्रवर्द्धन समितिका संयोजक ध्रुब अधिकारी, पत्रकार अमित साह लगायतकाेपनि सहभागीता रहेको थियो। तालिमको उद्घाटन सत्रकाे अध्यक्षता द मधेश टाइम्स मिडिया प्रा.लि.का अध्यक्ष राम कुशवाहाले गरेका थिए।

