
बारा,९जेठःहुलाकी राजमार्ग आयोजना अन्तर्गत निर्माणाधीन मानवत–कलैया–मटिअर्वा हुलाकी सडकखण्डको कलैया बजार क्षेत्रको सडक नबन्दा स्थानीयले सास्ती भोगिरहेका छन्। अहिले त्यहाँ वर्षायाममा बढी हिलो र सुख्खा याममा अत्यधिक धुलोको समस्या छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको मानमतदेखि भारतसँगको सिमाना जोडिएको मटिअर्वासम्म लगभग २७ किलोमिटर लामो छ। हुलाकी सडकखण्ड अन्तर्गत कलैया बजार क्षेत्रभित्र पर्ने यो सडक बन्न थालेको १४ वर्ष पूरा भइसकेको छ तर, अहिलेसम्म अधुरै छ।
मानवत–कलैया–मटिअर्वा सडकखण्ड अन्तर्गत अन्य भागहरूमा दुई लेनको कालोपत्रे सडक निर्माण गरिए पनि कलैयामा रहेको संस्कार एफएमदेखि दुर्गा स्कुलसम्म लगभग तीन किलोमिटर सडकलाई भने चार लेनको बनाउन निर्माण कार्य सुरु गरिएको बताइएको छ।
तीनपटक ठेक्का लागेको र तीनैवटा निर्माण कम्पनी फेरिएको भए पनि घर अगाडिको सडक नबन्दा घरबाट निस्कन र पस्नसमेत समस्या हुने गरेको स्थानीय सुनिल कुशवाहा बताउँछन्। हिँडडुल गर्नसमेत गाह्रो हुने गरेको समस्या कुशवाहा सुनाउँछन्।
दिनहुँ सयौंको संख्यामा चल्ने यातयातका साधानहरूले गर्दा सडकमा दुर्घटनाको जोखिमसमेत बढाएको उनी बताउँछन्।
मानवत–कलैया–मटिअर्वा सडकखण्ड अन्तर्गत बन्न नसकेको कलैया बजार क्षेत्रको हुलाकी सडक निर्माणका लागि विगत १४ वर्षमा तीनवटा कम्पनीले ठेक्का पाए तर, काम अहिलेसम्म पनि काम टुङ्गिएको छैन। स्थानीय श्याम गुप्ता कम्पनी फेरिए पनि काम नहुँदा आफूहरूलाई अनावश्यक दुःख हुने गरेको बताउँछन्।
सुरुमा भारतीय अनुदानमा थालनी गरिएको उक्त सडक बनाउने जिम्मा भारतीय कम्पनी भिस्वा कन्ट्रक्सनले पाएको थियो। उसले २०६७ चैत १२ बाट २०७० जेठ मसान्तसम्म गरी २६ महिनाभित्रमा निर्माण गरिसक्नुपर्ने सम्झौता गरेको थियो।
कन्ट्रक्सनले ती सडक निर्माण कार्य सुरु गर्दा सडकमा भएका विद्युतीय पोल, खानेपानीको पाइप र भौतिक संरचना खाली गराउन भनेको तर, खाली नगराइएको बतायो। यसपछि ऊ काम अलपत्र छाडेर भाग्यो।
भिस्वा कन्ट्रक्सन भागे पनि त्यसलाई पुन निर्माणका लागि काठमाडौंको आशिष–डिएस जेभी निर्माण कम्पनी आइपुग्यो। उसले ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी २०७३ कात्तिक ३ गते हुलाकी राजमार्ग निर्देशनालयसँग सम्झौता गरेको थियो।
आशिष–डिएस जे.भीसँग सम्झौता भएपछि २०७३ सालको पुस अन्तिम हप्ता तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले मटिअर्वामा यस सडकको शिलान्यास गरेका थिए।
मन्त्री लेखकले शिलान्यास गरेपछि उक्त हुलाकी सडक समयमै बन्ने अपेक्षा गरिएको थियो। तर, दोस्रो पटक सडक निर्माणको जिम्मा पाएका निर्माण कम्पनीलाई पनि पहिला जस्तै सडकभित्र पर्ने भौतिक पूर्वाधार खाली गराउन, विद्युतीय पोल र खानेपानीको पाइप सार्ने कार्यमा कलैयाबासीको सहयोग भन्दै असहयोग नै रह्यो।
सडक निर्माणमा सहयोगभन्दा बढी असहयोग नै मिल्न थाले पनि निर्माण आशिष–डिएस जे.भीले कलैया बजार क्षेत्रको सडकलाई अधुरै छाड्न पुग्यो। मानमत–कलैया–मटिअर्वा हुलाकी सडकखण्डअन्तर्गत पर्ने कलैया बजार क्षेत्रको साढे दुई किलोमिटर र अन्य स्थानको गरेर लगभग साढे तीन किलोमिटर सडक निर्माण गर्नको लागि तेस्रो पटक ठेक्का लगाइयो।
तेस्रो पटकको ठेक्का लगाउँदा उक्त अधुरो सडकलाई ओम साई एण्ड कम्पनी–सप्तकोशी जलाधार जेभीले लगभग २३ करोडमा ठेक्का स्कार गरेको हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जका ईन्जिनियर धर्मेन्द्र दास बताउँछन्।
२०७९ माघ १ गते भित्र निर्माण सम्पन्न गर्न २०७८ पुस २७ गते निर्माण सम्झौता गरिएको ईन्जिनियर दासले बताए। सम्झौताअनुसार सडकको निर्माण कार्य पूरा नभएपछि पहिलो पटक २०८१ फागुन २९ गतेसम्म म्याद थप गरिएको दासले बताए।
पहिलो पटक थप गरिएको म्यादमा पनि निर्माण कम्पनीले काम पूरा गर्न नसकेको अवस्था रहेको दासले बताए। निर्माण सम्झौता गरेकामध्ये सप्तकोशी जलाधार निर्माण कम्पनीले काम छोडेर सम्पर्कविहीन बनेपछि ती कम्पनीमाथि कारबाही प्रक्रिया सुरु गरिएको छ।
ओम साई एण्ड कम्पनीका सञ्चालक होमनाथ गौतमले मानमत–कलैया –मटिअर्वा हुलाकी सडकखण्डअन्तर्गत अधुरो रहन गएको कलैया बजारलगायतको स्थानमा विद्युतीय पोल र खानेपानीको पाइप नहटिएकोले काम गर्न ढिलाइ भइरहेको बताए।
सडक निर्माण कार्यमा कलैया उपमहानगरपालिका मेयर विनोद साहको भूमिकाले पनि काम गर्नमा केही समस्या भएको गौतमले बताए। सडक खण्डमा पर्ने विद्युतिय पोल र खानेपानीको पाइन समयमै नहटाइएकोले गर्दा उक्त सडकमा गर्ने भनिएको कालो पत्रे कार्यमा ढिलाइ भएको उनले बताए।
पहिला ढिलाइ गरिए पनि विद्युतीय पोल र खानेपानीको पाइप खाली गरिए स्थानहरूमा कालो पत्रे गर्नको लागि बेसहरू खसाल्ने कार्य सुरु गरिएको छ।
सडक निर्माणमा स्थानीयबाट विवादै विवाद
सुरुमै कलैया बजार क्षेत्रमा पर्ने हुलाकी सडकको मुख्य भागबाट दायाँबायाँ १५÷१५ मिटर जग्गा अधिग्रहण गरेर सडक निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको अवस्था थियो। तर, सडक छेउमा घर भएका स्थानीयहरूले त्यसको विरोध सुरु गरे।
स्थानीयहरूले हुलाकी सडकको मुख्य भागबाट दायाँबायाँ १५/१५ मिटर नभई ७/७ मिटर मात्रै अधिग्रहणको माग गर्दै आएका छन्। यसरी स्थानीयहरूले विरोध गर्दा पनि कम्पनीहरू फर्किएका हुन्।
स्थानीयहरूले विरोध गरे पनि उनीहरूला मुआब्जा दिने सर्तमा दुबैतिर १५/१५ मिटर नै अधिग्रहण गरिएको थियो। त्यसो हुँदा पनि स्थानीयहरूले मुआब्जा रकम बढाउन माग गरेका छन्।
मुअब्जा रकम नबढाए खाली नगर्ने उनीहरूको अडान कायमै छ। सडक नबन्नुमा केही स्थानीयको पनि कमजोरी देखिन्छ।
मेयर साहको दोहोरो भूमिका
२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिकाको मेयरमा राजेश राय यादव निर्वाचित बने। उनले सडक निर्माणलाई प्राथमिकता दिने नीति अख्तियारी गरे। तर, उनका प्रतिद्वन्दी जो अहिलेका निर्वाचित मेयर हुन् विनोद साह, उनले त्यसबेला स्थानीयलाई ’उचाल्ने’ काम गरे। मुआब्जा बढाएपछि मात्रै १५ मिटर जमिन खाली गरिदिने स्थानीयको अडानमा उनकै हात रहेको बताइन्छ।
अहिले उनी आफैँ मेयर छन् तर, पनि स्थानीयले मुआब्जा पाएका छैनन्। मुआब्जा बढ्ने लोभका कारण सडक नबनेको बताउँछन् स्थानीय कुशवाहा बताउँछन्।
अहिले मेयर साहले मुआब्जा नबढ्ने बताउने गरेका छन्। जमिन खाली गर्नका लागि भने उनले ताकेता गर्दै आएका छन्।
कलैया बजार क्षेत्रकै मुख्य सडकहरू वर्षौँदेखि अलपत्र परेको र नगरबासीलाई सास्ती भएको गुनासो हुन थाले पनि मेयर साहले एक महिनाअघि नै निर्माण कम्पनीले सात दिनभित्र सडक नबनाए आफू आमरण अनशन बस्ने घोषणा गरेका थिए।
हप्तादिने अल्टिमेटम दिएका उनलाई कहिले बस्न अनशन भन्ने प्रश्न गर्दा उनले सडकको निर्माण कार्य ठेकेदारले गरिरहेकाले अनशन नबसेको बताए।उपेन्द्र यादव/नागरिक