Madhes Khabar
राजनीति

कांग्रेस नेता चौधरी र चौरसियाको प्रश्न : ’दोहोरो पासपोर्ट राख्ने लामिछानेलाई किन गिरफ्तार नगर्ने ?’

वीरगन्ज,११जेष्ठः नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रेस स्वतन्त्रता माथिको ठूलो आक्रमण भएको बताएका छन् ।

सरकारको आलोचना गरेको र गृहमन्त्री रवि लामिछानेविरुद्ध संलग्न रहेको सहकारी ठगी प्रकरणको समाचार लेखेकै प्रतिशोधमा सिरोहियालाई गिरफ्तार गरिएको छर्लंग रहेको बताउँदै चौधरीले दोहोरो पासपोर्ट राख्ने रवि लामिछानेलाई किन गिरफ्तार नगर्ने भनि प्रश्न गरे । कसैले उजुरी गर्दैमा जाँचबुझ र आफ्नो भनाई समेत राख्ने मौका नदिई एकै पटक गिरफ्तारीको बाटो अपनाउनु अधिनायकवाद भएको उनले बताए । ‘यो प्रेस स्वतन्त्रता र लोकतन्त्र माथिको पनि आक्रमण हो,’ चौधरीले भने, ‘भ्रष्टाचार, कुशासन, संविधान र कानूनलाई मिचेर अनियमितता गर्नेविरुद्ध समाचार लेख्ने संस्थाविरुद्ध भएको गम्भीर आक्रमण हो ।’

चौधरीले यस्तै स्थिति रहे मुलुकमा अर्को राजनीतिक विद्रोह हुन सक्ने औंल्याए । ‘यो पन्चायतकालीन शैली भयो, त्यतिबेला यस्तै हुन्थ्यो,’ उनले भने, ‘पहिले थुन, अनि सुन शैली देखियो, जुन आजको युगमा उचित छैन ।’

कांग्रेस केन्द्रीय सदस्य अजय चौरसियालेपनि सिरोहियाको गिरफ्तारी अनुचित रहेको बताए । ‘जुन शैलीमा मुलुकको अग्रणी संचार गृहका अध्यक्ष तथा प्रतिष्ठित संचार उद्यमीलाई गिरफ्तार गरियो त्यो बिल्कुलै गलत हो,’ उनले भने, ‘सुनुवाइको मौकासमेत नदिई, संचारगृहभित्रै सुरक्षाकर्मी बुट बजार्दै जानु तानाशाही शैली हो, यसले देशमा लोकतन्त्र नभई अधिनायकवाद रहेको संकेत गर्छ ।’

चौरसियाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले संचारजगतलाई दमन गर्न अपनाएको शैली गृहमन्त्री लामिछानेले अपनाएकाले उनमा ज्ञानेन्द्र जत्तिकै अहं आइसकेको आरोप लगाए । ‘कुनै व्यक्तिको लहड र निजी अह्मले सरकार चल्छ भने त्यो मुलुकमा गम्भीर संकट आउन सक्ने संकेत हो,’ उनले भने, ‘सत्ता गठबन्धन र रास्वपाका अन्य पदाधिकारीले लामिछानेबारे समयमै उचित निर्णय नलिए सरकार र उनको पार्टी पनि संकटमा पर्न सक्छ ।’ साभार : ईकान्तिपुरबाट

Related posts

विशेष महाधिवेशनलाई हल्का रुपमा नलिओैं, जे निर्णय हुन्छ,हलबाटै हुन्छ : गगन

MadhesKhabar

स्ववियु निर्वाचन : वीरगन्जका दुवै क्याम्पसमा जित्ने नेविसंघको दाबी

MadhesKhabar

प्रदेशसभाको प्रत्यक्ष तर्फको ३३० मध्ये १११ सिट जित्दै कांग्रेस पहिलो दल

MadhesKhabar

Leave a Comment