Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जका सरकारी विद्यालयका विद्यार्थीको हौसला बढाउन ‘कक्षा कोठामा मेयर’ कार्यक्रम सुरु

वीरगन्ज,३१बैशाखः वीरगन्ज महानगरपालिकाले ‘कक्षा कोठामा मेयर’ कार्यक्रमको शुभारम्भ गरेको छ ।सोमबार वीरगन्ज महानगरपालिका–४ विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयमा पुगेर मेयर राजेशमान सिंहले उक्त कार्यक्रमको सुरुवात गरेका हुन् ।

विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मेयर सिंहले हप्ताको एक दिन विभिन्न विद्यालयमा पुगेर ‘कक्षा कोठामा मेयर’ कार्यक्रममार्फत एउटा कक्षा लिन सुरु गरेका हुन् ।

पहिलो दिन सोमबार त्रिजुद्ध माविमा पुगेका मेयर सिंहले कक्षा कोठामै गएर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अघि बढ्नु पर्नेमा जोड दिए ।आफ्ना अग्रजको योगदानको सम्मान गर्दै शिक्षा प्रदान गर्ने गुरुहरुको सम्मानमा कमी नल्याउनपनि उनले विद्यार्थीहरुसंग आग्रह गरे ।

यसै शैक्षिक सत्रबाट विद्यालयमा डिजिटल कक्षा समेत संचालन गरेको महानगरले त्यसको उपयोगिता र प्रभावकारिताका विषयमा समेत मेयर सिंहले अवलोकन गरे ।महानगरपालिकाले यसै शैक्षिक सत्रबाट महानगरका वभिन्न ३० वटा विद्यालयमा नेपाली भाषा सिकाईका लागि डिजिटल कक्षा समेत संचालन गरेको छ ।

मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरुलाई उत्प्रेरणा दिँदा विद्यार्थीलाई अध्ययनका लागि झनै हौसला मिलेको त्रिजुद्ध माविका प्रधानाध्यापक नविन मिश्रले बताए ।सोमबार त्रिजुद्ध माविको कक्षा कोठामा मेयर सिंहसंगै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई र शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरुको हौसला बढाउन कक्षा लिए ।

मेयर सिंहले विद्यालयको अनुगमन समेत गर्दै त्यहाँ उपलब्ध साधन स्रोतको स्थिति तथा प्रयोगको अवस्थाको बारेमा समेत जानकारी लिए। यस्तै कक्षा पाँचका विद्यार्थीलाई मेयर सिंहले पुस्तक समेत हस्तान्तरण गरे ।

 

Related posts

बालक निरजकाे अपहरण र हत्या उनलाई पढाउने शिक्षकले नै गरेकाे खुलाशा

MadhesKhabar

बारामा तेलहन खेती बढ्यो

MadhesKhabar

बिन्दवासिनी , छिपहरमाई र पकाहामैनपुर गाँउपालिकाका विद्यालयहरुमा पनि गर्मी विदा घाेषणा

MadhesKhabar

Leave a Comment