Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्सालाई पूर्ण खोप जिल्ला घोषणा गर्नका लागि घरघरमा पुगेर गरियो अनुगमन

वीरगन्ज,२६बैशाखःपर्सा जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप जिल्ला घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । पर्सा जिल्लालाई आगामी जेष्ठ ३ गते पूर्ण खोप जिल्ला घोषणा गरिदैंछ ।त्यसका लागि यस बर्ष नै पूर्ण खोप घोषणा भइसकेका १० वटा पालिकामा स्वास्थ्य कार्यालय पर्साले आइतबारदेखि मंगलबारसम्म स्थलगत अनुगमन गरेको छ । अनुगमनका क्रममा हरेक ती पालिकाका विभिन्न वडाका घरधुरीमा पुगेर लक्षित उमेर समुहका बालबालिकाले नियमित खोप लगाए नलगाएको बारेमा अनुगमन गरिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।

अनुगमनको अन्तिम दिन मंगलबार स्वास्थ्य अधिकृत मल्लिका श्रेष्ठको नेतृत्वमा स्वास्थ्य कार्यालयबाट खटिएको दुई छुट्टा छुट्टै टोलीले छिपहरमाई , विन्दवासिनी , पटेर्वासुगौली र सखुवा प्रसौनी गाँउपालिकाका विभिन्न वडामा पुगेर अनुगमन गरेको उनले बताए । यसअघि आइतबार र सोमबारपनि अन्य ६ पालिकामा श्रेष्ठ नेतृत्वको टोलीले अनुगमन गरेको थियो ।

ठाकुरका अनुसार, जिल्लाका वीरगन्ज महानगर बाहेक अन्य चार पालिका भने गत बर्ष नै पूर्ण खोप पालिका घोषणा भइसकेका थिए ।

ठाकुरले भने,‘ पालिकाहरुले यसअघि नै पालिकास्तरबाट आफनो अनुगमन सकिसकेका थिए । अब जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणा गर्नको लागि अन्तिम तयारी स्वरुप स्वास्थ्य कार्यालयले अनुगमन गरेको हो ।कहि कतै कुनै कारणवस कोहिपनि बालबालिका खोपबाट बञ्चित त छैनन्र भनेर हामीले यो अन्तिम अनुगमन गरिरहेका हौं ।चार पालिकामा गरिएको अनुगमनमा लक्षित उमेर समुहका एक जनापनि बालबालिका पूर्णखोपबाट बञ्चित भएको पाइएन ।

जेठ ३ गते वीरगन्जको कन्ट्री इन पार्टी प्यालेसमा प्रदेश सरकारका स्वास्थ्यमन्त्रीको प्रमुख आतिथ्यतामा एक भव्य कार्यक्रम आयोजना गरेर पर्सा जिल्ललाई पूर्ण खोप जिल्ला घोषणा गरिने जानकारी ठाकुरले जानकारीले दिए।

मधेस प्रदेशका आठ मध्ये पर्सासहित चार जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी छन् ।पर्सा, रौतहट, धनुषा र महोत्तरी जिल्ला मात्र पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेका हुन् ।

पर्सामा पूर्ण खोप कार्यक्रम २०७३ वैशाखबाट थालिएको थियो । लक्ष्य अनुसार सन् २०१७ भित्रै पर्सा जिल्लालाई पूर्ण खोप घोषणा गरी सक्नु पथ्र्यो । तर त्यस अवधिमा पनि हुन नसकेपछि पटक पटक म्याद थप्दै काम हुँदै आएको छ । पछिल्लो ५ बर्ष यता कोरोनाकाल तथा अन्य कारण देखाएर काममा ढिलाई भइरहेको थियो ।

पूर्ण खोप युक्त जिल्ला घोषणा गर्न जिल्लाका २३ महिना मुनिका करिब २५ हजार बालबालिकाले सबै खोप लगाई सकेको हुनुपर्छ । ती मध्ये १ वर्षमुनिका १५ हजार बालबालिकालाई दादुराको दोश्रो खोप लगाई सकेको हुनुपर्छ ।

१५ महिनादेखि २३ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाले एउटा पनि खोप नछुटाई सबै खोप लगाएको अवस्थामा पालिका वा जिल्लालाई पूर्ण खोप घोषणा गरिन्छ । २३ महिना मुनिका बालबालिकाले बिसिजी १ मात्रा, डिपिटी÷एचइपिबिएचआइबिको ३, ओपीभीको ३, पीसीभीको ३, दादुराको २, जेइको १ डोज खोप लिएको हुनुपर्छ । यी मध्ये एउटा पनि बालबालिका कुनै एक खोपबाट बञ्चित हुनुहुँदैन ।

Related posts

पर्सामा लैंगिक हिंसा र जातिय विभेद राेक्न मेराे प्राथमिकतामा रहन्छ : सिडिओ भुषाल

MadhesKhabar

सडक खनेर अलपत्र पारेपछि वीरगन्ज महानगरको आक्रोश : टेलिकममा लगेर फाल्यो फोहोर

MadhesKhabar

वीरगन्जमा अनुमति बेगर सञ्चालित कलेजहरुको बिगबिगी, ८ वटामा महानगरले गर्यो सिलबन्दी

MadhesKhabar

Leave a Comment