वीरगन्ज,१८बैशाखःवीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँ भन्दा बढी नगद रकम चोरी भएको बैंकले जानकारी गराएको छ ।
बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी भएको भनेर बैंकका तर्फबाट मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
उनका अनुसार, सोमबार बिहान ८.४५ बजेतिर बैंकका सुरक्षा गार्ड बैंकमा पुग्दा मूल गेटमा अर्कै नयाँ ताल्चा लगाएको देखेपछि बैंकका शाखा प्रबन्धक पवन पौडेललाई फोन गरेर खबर गरेका थिए । पौडेलले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरी टोलीले मूल गेटमा लगाइएको नयाँ ताल्चा फोडेर भित्र प्रवेश गर्र्दा बैंकबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको पाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
बैंकभित्र टिनको बाकसभित्र राखिएका १ सय र २० दरका नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थापाले बताए ।उनले भने,‘ चोरहरुले टिनको बाकस वेल्डिंग गर्ने मेसिनले काटेर रकम झिकेर लगेको अवस्था देखिन्छ। बैंकको तिजोरी (भल्ट) भित्रपनि अझ धेरै रकम थियो । तर त्यो तिजोरी भने सुरक्षित थियो ।’
थापाका अनुसार, नबिल बैंककोे उक्त शाखामा रातिको समयमा सुरक्षा गार्डपनि बस्दैनथे । राति सुरक्षा गार्डसमेत नभएको मौका छोपेर चोरहरुले बैंकमा पसेर चोरी गरेको उनले बताए ।
प्रााम्भिक अनुसन्धानका क्रममा सिसिटिभी क्यामेरामा रेकर्ड भएको भिडियोमा चार पाँच जनाको संख्यामा रहेका चोरहरुले मूल गेटको ताल्चा फुटाएर बैंकभित्र प्रवेश गरि टिनको बाकसमा राखिएको रकम बोरामा हालेर लगेको देखिएको थापाले जानकारी दिए । रकम चोेरेर बैंकबाट बाहिर निस्कने बेला चोरहरुले मूल गेटमा अर्कै नयाँ ताल्चा लगाएर हिडेकोपनि देखिएको थापाले बताए ।
मंगलबार बैंकका शाखा प्रमुख पौडेलले बैंकमा चोरी भएको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा जोहेरी दिएको जानकारीपनि थापाले दिए । घटनाको खबर पाए लगत्तै प्रहरीले बैंकमा भएको चोरीको घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको उनले बताए ।
बैंकमा चोरीको घटना आइतबार राति नै भएको भएपनि यसबारे जानकारी लिन सोमबार प्रयास गर्दा प्रहरीले जानकारी दिन मानेको थिएन । मंगलबार शाखा प्रबन्धक पौडेलले जाहेरी दिएपछि मात्र प्रहरीले बैंकमा भएको चोरीको घटना बारे जानकारी दिएको हो ।
बैंंकमा आइतबार राति चोरी भएपछि सोमबारदेखि नै बैंकको कारोबार बन्द गरिएको छ ।सोमबार बिहान बैंकले सूचना टाँसेर कारोबार बन्द गरिएको जानकारी गराएको थियो । बाइपासमा नबिल बैंककोे शाखा गत जेठ १८ स्थापना गरिएको थियो ।