वीरगन्ज,१७बैशाखः वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख किशोरी राय यादवले नेशनल ईन्फोटेक(एनआई)कलेजले लगाएको आरोप निराधार रहेको बताएका छन् ।
आइतबार हरिखेतान क्याम्पसमा जारी कक्षा १२ को परीक्षामा सहभागी एनआई कलेजका विद्यार्थीहरुले परीक्षामा मानसिक यातना र तनाव दिएको भन्दै क्याम्पसमा तोडफोड गरेका थिए ।
त्यहि विषयमा प्रष्टिकरण दिन सोमबार पत्रकार सम्मेलन गरेर हरिखेतान क्याम्पसका निमित्त प्रमुख यादवले परीक्षा हलमा विद्यार्थीलाई तनाव र मानसिक यातना दिएको भनेर एनआई कलेजले लगाएको आरोप पूर्वाग्रही र निराधार भएको दाबी गरे ।
आइतबार हरिखेतान क्याम्पसमा तोडफोडको घटनाभएपछि एनआई कलेज प्रशासनले आफनो कलेजलाई बदनाम गर्न आफनो कलेजका विद्यार्थीलाई परीक्षामा तनाव दिएको आरोप सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक गरेको थियो ।
पत्रकार सम्मेलनमा हरिखेतान क्याम्पसका निमित्त क्याम्पस प्रमुख यादवले भने आफनो क्याम्पसमा आइतबार सुनियोजित रुपमा तोडफोडको घटना गराइएको बताए । उनले भने,‘एनआई कलेजसंग हाम्रो कुनैपनि प्रतिस्पर्धा नै छैन । उसको भन्दा बढी सहुलियत र सुविधा हामीले विद्यार्थीलाई दिदै आएका छौं । अनि उसंग हाम्रो के को प्रतिस्पर्धा ? ’
एनआई कलेजले आफनै विद्यार्थीीहरुको भविष्यसंग खेलवाड गरिरहेको उनले बताए ।उनले भने,‘एनआई कलेजले बनावटी कूरा गरेको छ । ढोकसला देखाउने काम गरिरहेको छ। परीक्षा सेन्टर अन्त कतै नभई आफनै कलेजमा होस् भनेर योसब प्रपञ्च रचिएको रहेछ ।’उनले हरिखेतान क्याम्पसलाई मिथ्याको आरोप लगाउने एनआई कलेजलाई सिसिटीभी राखेर परीक्षा लिन चुनौतीपनि दिए ।
आइतबारको परीक्षामा हरिखेतानका कोहिपनि शिक्षक वा कर्मचारीले विद्यार्थीलाई तनाव नदिएको दाबी उनले गरे । उनले भने,‘ राष्ट्रिय परीक्षा बोर्डको टोली आँफै आएको थियो । उक्त टोलीले नै परीक्षा हलमा पसेर अनुगमन गरेको थियो ।’