वीरगन्ज,१०बैशाख:वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ चाेर्नीका रामआशिष पासवानले गलत नियतले चौधरी समूहको बद्नाम गर्न सरकारी निकायमा उजुरी गरेको तथ्य खुलासा भएको छ ।
साविककाे चोनी गाविस वडा नम्बर १ मा रहेको पासवानको चार कट्टा जग्गा चौधरी ग्रुपले खरिद नगरेपछि उनी सार्वजनिक जग्गा अतिक्रमित भयो भन्दै मिडियाबाजीमा उत्रिएका हुन् । उनको जग्गासँगै जोडिएको जग्गा चौधरी समूहले खरिद गरेर सिजी लजिस्टिक पार्क खोल्न लागेको हो ।
पासवानले चलनचल्तीभन्दा दोब्बर मूल्यमा जग्गा बेच्न खोजेका थिए ।तर चाैधरी ग्रुपले पासवानको जग्गा किनेन ।
‘उनले (पासवान) महंगोमा जमिन बेच्न चाहेका थिए । चलनचल्तीभन्दा दोब्बर मूल्यमा जमिन कसले किन्छ र ?’ स्थानीय अखिलेश कुमार यादवले भने, ‘त्यो जग्गा किनिदिएको भए यो उजुरीसुजुरी केहि हुन्थेन । जग्गा नकिनिदिएपछि उसले यो सबै फट्याइँ गरेको हो ।’
वीरगन्ज महानरगपालिका वडा नम्बर ३२ (साविकको चोनी गाविस वडा नंबर ५) का पासवानविरुद्ध स्थानीय नै आक्रोशित भएका छन् । पासवानकै कारण उद्योग नखुल्ने हो कि भन्ने चिन्ता स्थानीयले गर्न थालेका छन् ।
‘गाउँमा उद्योग आउने भयो भनेर हामी खुसी थियौं । हामीले त रोजगारी पनि पाउँथ्यौ नि । तर यो फटाहाका कारण उद्योग नै नआउला कि भन्ने भयो । यसलाई त समाजिक बहिष्कार गर्नुपर्ने भयो,’ अर्का स्थानीय शम्भु महतोले भने, ‘उसले आफ्नो जग्गा बेच्न खोजेको थियो । चौधरी ग्रुपले किनेन । त्यसपछि उसले चौधरी ग्रुपलाई बद्नाम गर्न यो सबै कर्तुत गरेको हो ।’
स्थानीयका अनुसार चौधरी समूहले खरिद गरेको जग्गा न सार्वजनिक नै हो, न त्यहाँ मसानघाट छ ।
कतिपय सञ्चारमाध्यममा तथ्य नबुझी पासवानकै कुरालाई आधार बनाएर समाचार प्रकाशित गरेकाे उनिहरुकाे आराेप छ । मिडियाले पनि कुरै नुबझी त्यो फटाहाको कुरामा विश्वास गरेर समाचार बनाए,’ स्थानीय अनिल मण्डलले भने, ‘त्यहाँ कुनै पनि सार्वजनिक जग्गा मिचिएको छैन ।’
साभार:नेपालमञ्च

