Madhes Khabar
मधेस प्रदेश

मधेस : श्रीमतीको हत्या गरेर शव घरभित्रै गाडेका श्रीमान् र जेठाजु पक्राउ

सांकेतिक फोटो ।

धनुषा,१०बैशाख :धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलका ५५ वर्षीय सुदीप ठाकुर र ६० वर्षीय उदित ठाकुर रहेका छन् । दुवैमाथि ४५ वर्षीया रेखादेवी ठाकुरको हत्या गरेको आरोप छ । पक्राउ परेका सुदीप रेखादेवीका श्रीमान् तथा उदित जेठाजु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए।

गत वर्ष कात्तिक १० गते रेखादेवीको उनका श्रीमान् सुदीपसँग विवाद भएको थियो । श्रीमान्ले बञ्चरोले टाउकोमा प्रहार गरेपछि रेखादेवीको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको भोलिपल्ट सुदीपले आफ्नै घरभित्र खाल्डो खनी रेखादेवीको शव पुरेका थिए । उनले घटनाबारे सहोदर दाजु उदितलाई जानकारी गराएको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक अवालेले बताए ।

’घटनापछि दुवै दाजु–भाइ भारतमा काम गर्न गएको खुलेको छ,’ उनले भने । दुवैजना गत वर्ष कात्तिक ३० गते घर फर्किएका थिए । दाजुभाइले खाल्डोबाट शव निकाली बोरामा हालेर सहिदनगर–७ नेमुवाटोल नजिकै खोल्सामा फालेको खुलेको छ ।

हत्याको लामो समयपछि आमा बेपत्ता भएकोबारेमा छोरोले प्रहरीलाई खबर गरेको प्रवक्ता अवालेले बताए । अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उनले बताए । प्रवक्ता अवालेका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो बरामद गरिएको छ । शवको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।रासस

 

 

Related posts

रौतहटमा पुर्वमन्त्री प्रभु साहको दबदबा – मौलापुरको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवारहरु निर्विरोध

MadhesKhabar

मधेसका किसानलाई निःशुल्क सिँचाइ मिटर उपलब्ध गराउने प्रदेश सरकारको तयारी

MadhesKhabar

बारा ४ (ख) को प्रदेशसभा सदस्यमा सोनल पुन निर्वाचित

MadhesKhabar

Leave a Comment