Madhes Khabar
काेशी प्रदेश धर्म/संस्कृति

विराटनगरमा आज पनि झडप,८ राउन्ड टियर ग्याँस प्रहार, डीएसपीसहित ७ प्रहरी घाइते

विराटनगर,६बैशाख : विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच आज बिहीबार पनि झडप भएको छ। झडपमा परेर प्रहरी नमयब उपरीक्षक (डीएसपी)सहित ७ जना प्रहरी घाइते भएका छन्। डीएसपी वेदप्रकाश जोशीसहितका प्रहरी घाइते भएका हुन्। घाइते हुने अन्य प्रहरीमा वरिष्ठ सइ (वरिष्ठ प्रहरी नायव निरीक्षक) रुपेश थपलिया, असइ (प्रहरी सहायक निरीक्षक) कमल पौडेल, हवल्दार ममता चौधरी, सहायक हवल्दार सुशील खड्गा, रामकुमार विक र लक्ष्मण मण्डल रहेका छन्।

घाइते प्रहरीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार विराटनगरको रानी क्षेत्रमा बिहीबार पनि दोहोरो झडप भएको हो। झडपमा घाइते भएका सबैको अवस्था सामान्य छ।

बुधबार रामनवमीको अवसरमा हिन्दुहरुले निकालेको र्‍यालीलाई फरक धर्मका समूहले अवरोध गरेपछि बुधबार पनि झडप भएको थियो।बुधबारको झडपमा ५ प्रहरी र १ बालक घाइते भएका थिए।

 

विराटनगरको रानीमा बुधबार दुई पक्षबीच झडप भएपछि समन्वय बिना सभा, सम्मेलन र विभिन्न गतिविधि गर्नलाई स्थानीय प्रशासनले बिहीबारदेखि रोक लगाएको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहद्वारा जारी सूचनामा मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै सम्भावित मानवीय क्षति कम गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न जिल्ला प्रशासन कार्यालयसँग समन्वय नगरी राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधिलगायत सबै प्रकारका भेला, र्‍याली, प्रदर्शन कार्यक्रम नगर्न/नगराउन भनिएको छ।

तर उक्त सूचनाको बेवास्ता गरेर बिहीबार दिउँसो ३ बजेतिर विराटनगर महानगरपालिका–१५ रामजानकी मन्दिरअगाडि ८/१० जना व्यक्तिले प्रदर्शन सुरु गरेका थिए। प्रदर्शन गर्नेमध्ये विराटनगर–१५ का २६ वर्षीय राजन झा र २४ वर्षीय रितेश झालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई नियन्त्रणमा लिएको विरोधमा बाँसको भाटा र लाट्ठी लिएर ५०/६० जनाको समूह साँझ ५ बजेतिर प्रदर्शनमा उत्रिएको थियो।

उग्र बन्दै गएको प्रदर्शन नियन्त्रणमा लिन डीएसपी जोशीसहितको टोली प्रदर्शनस्थलमा पुग्नसाथ प्रहरीमाथि उक्त भीडले एक्कासि ढुंगामुडा गरेको प्रजिअ भट्टराईले बताए। प्रदर्शन रोक्ने क्रममा ढुंगामुडा हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको छ। अश्रुग्यास प्रहारपछि भीड तितरबितर भएको जानकारी भट्टराईले दिए।

‘सुरक्षाका लागि पुगेको प्रहरीमाथि एक्कासि ढुंगामुडा भयो। स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘त्यसपछि भीड तितरबितर भएर अवस्था सामान्य बनेको छ। झडपमा परेर ७ जना प्रहरी घाइते भएका छन्।’

अहिले स्थिति सुरक्षा नियन्त्रणमै रहेको जानकारी भट्टराईले दिए। उनका अनुसार घटनास्थल वरपर ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। अराजक गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रजिअ भट्टराईको भनाइ छ। विभिन्न गतिविधिका नाममा गलत गर्ने र हिंसा भड्काउन खोज्नेलाई छुट दिन नसकिने उनले बताए।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

ठोरीमा पनि मनाइयो राम–सीता विवाह महोत्सव

MadhesKhabar

भाजपा नेतृ नुपुर शर्माको समर्थनमा वीरगन्जमा हिन्दुवादीहरुको प्रदर्शन

MadhesKhabar

युवतीमाथि सामूहिक बलात्कार, एक बालकसहित तीन जना पक्राउ

MadhesKhabar

Leave a Comment