Madhes Khabar
धर्म/संस्कृति

विराटनगरमा रामनवमीकाे र्यालीमा अवराेध भएपछि झडप,प्रहरीले गर्‍यो हवाई फायर

विराटनगर,५बैशाख : विराटनगरमा बुधबार दिउँसो दुई फरक धर्म समुदायकाबीच दोहोरो झडप भएको छ। झडपका कारण विराटनगरको रानी क्षेत्र तनावग्रस्त बनेको छ। रामनवमीको अवसरमा निकालिएको र्‍याली अर्को समुदायको बस्तीमा पुगेपछि तनाव सुरु भएको हो। विराटनगर महानगरपालिका-१५ रामजानकी मन्दिर र विराटनगर-१३ नहर चोकबाट उक्त र्‍याली अध्यक्ष बलराम यादवको नेतृत्वमा सवारीसाधनसहित निकालिएको थियो।

स्थानीय प्रशासनका अनुसार विराटनगर बजार परिक्रमा गरी र्‍याली रामजानकी मन्दिरनजिक पुगेर कोणसभामा परिणत हुने कार्यक्रम थियो। तर, रानी रोड, हनुमान मन्दिर, आइसीपी रोड, छाला फयाक्ट्री र मण्टा पोखरी हुँदै र्‍याली अर्को समुदायको बस्तीमा पुगेपछि तनाव सुरु भएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार रामजानकी मन्दिर निस्कने क्रममा विराटनगर-१५ र १७ स्थित बस्तीमा पुगेपछि र्‍यालीलाई अवरोध गरिएको थियो।

दुई समुदाय झडपमा उत्रिएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रजिअ भट्टराईले बताए। उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास, लाट्ठी चार्ज र हवाई फायर गर्नु परेको छ।

 

यो समाचार तयार पार्दासम्म प्रहरीले २ राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरिसकेको छ। दुई पक्षको झडपमा परेर ५ जना प्रहरी घाइते भएका छन्। घाइते सुरक्षाकर्मीको संख्या बढ्न सक्ने प्रजिअ भट्टराईले बताए। घाइते सुरक्षाकर्मीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनका अनुसार घटनामा परेर दुवै पक्षका केही मानिसहरू घाइते भएका छन्। घाइतेको थप विवरण प्राप्त भइसकेको छैन।

विराटनगरको रानी क्षेत्रमा अहिले पनि दुई पक्षबीच ढुंगामुडा भइरहेको छ। दुवै पक्ष लाट्ठी, तरबारलगायतका घरेलु हतियारसहित झडप र प्रदर्शनमा उत्रिएका छन्। स्थिति भड्किन नदिन ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलगायतका प्रहरी अधिकारीहरु फिल्डमै खटिएर दुवै पक्षलाई सम्झाइबुझाइ गर्दै स्थितिलाई थप भड्किन नदिन प्रयासरत छन्। प्रहरीले दुवै पक्षसँग आवश्यक समन्वय गरिरहेको छ।

संयमता अपनाउन प्रशासनको आग्रह
स्थानीय प्रशासनले वर्षौदेखिको धार्मिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिएको छ। संयमता अपनाउन र परिस्थिति भड्किन नदिन प्रशासनले सबैमा आग्रह गरेको छ। धार्मिक गतिविधिका नाममा हुने गरेका अराजकता कानुनी कारबाहीको विषय बन्ने प्रजिअ भट्टराईले बताए।

‘अराजकता फैलाउने र माहोल बिगार्नेलाई कारबाही हुन्छ। गलत हर्कत गर्नेहरुको सूची प्रशासनले तयार पारिरहेको छ,’ उनले भने, ‘धार्मिक गतिविधिका नाममा गलत गर्ने छुट कसैलाई छैन। परिस्थिति सामान्य पार्न सबै पक्षले सहयोग गर्नुपर्छ।’ धार्मिक अगुवाहरुले पनि परिस्थिति भड्किन नदिन सबैमा आग्रह गरेका छन्। साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

पहाडमा आज फागु पुर्णिमा मनाइँदै,मधेसमा भाेलि हाेली

MadhesKhabar

छठ पर्बको पौराणिक कथा

MadhesKhabar

वीरगन्जको गहवामाई मन्दिर परिसर साैन्दर्यकरणकाे काम फेरि सुरु

MadhesKhabar

Leave a Comment