Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

पहाडमा आज फागु पुर्णिमा मनाइँदै,मधेसमा भाेलि हाेली

वीरगन्ज,११चैत:आज फागु पूर्णिमा अर्थात् रङ्गहरुकाे पर्व हाेली पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। यस पर्वको अवसरमा आज काठमाडौंको वसन्तपुरमा भेला भई त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउने परम्परा रहेको छ।

उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ। फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ।

आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्।

पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराई मधेसका जिल्लाहरूमा भने भोलि (सोमबार) मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ ।

स्थानअनुसार मनाइने होलीको नाम पनि फरक-फरक छ । हिमाली र पहाडी भेगमा खासगरी ‘फागु पूर्णिमा’ र तराई-मधेसमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।

तराई–मधेसका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।

Related posts

वीरगन्जको बीपी उद्यान परिसरमा हरित पार्क निर्माणको काम सुरु

MadhesKhabar

पर्सा-१ मा कस्ले जित्ला ? तथ्यांकले भन्छ प्रदीप नै अगाडि

MadhesKhabar

पर्सा जिल्लामा महिलाको नाममा ३ सय ६३ घरेलु उद्योग सञ्चालन

MadhesKhabar

Leave a Comment