Madhes Khabar
स्थानिय

पर्सामा मिटरब्याज सम्बन्धी ६६७ उजुरी मेलमिलापबाट सुल्झाइयो

फाइल तस्बिर।

वीरगन्ज,२३चैतःपर्सामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ६ सय ६७ वटा मुद्दा टुंग्याइएको छ । साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा ६६७ वटा उजुरी टुङ्गो लागे पनि अझै १ हजार ७ सय ३० वटा उजुरी टुंग्याउन बाँकी छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अनुचित लेनदेनसम्बन्धी उजुरीलाई प्राथमिकताको साथ सम्बोधन गर्दै आएको बताए । “यसअघि अनुचित लेनदेनसँग सम्बन्धित उजुरी जिल्ला प्रशासन कार्यालय आफैंले लिने गथ्र्यो”, उनले भने, “कार्यालयमा परेका उजुरीलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्साबाट अघि सम्बोधन गर्दै आएका छौँ ।”

प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार अनुचित लेनदेनसँग सम्बन्धित ५ सय ७ वटा उजुरी मेलमिलाप गरेर टुङ्गो लगाइएको र बाँकी १ हजार ६ सय ५३ वटा उजुरी जिल्ला प्रहरी कार्यालय पर्सालाई हस्तान्तरण गरिएको छ । “प्रहरीले पनि अनुचित लेनदेनको मुद्दालाई प्राथमिकतासहित मेलमिलाप गराउँदै आएको छ”, उनले भने, “यस्तो वित्तीय एवं सामाजिक अपराधका विरुद्धमा सक्रिय भई लागिरहेका छौँ ।”

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले अनुचित लेनदेनसँग सम्बन्धित उजुरीउपर दुवै पक्षलाई छलफल गराएर टुङ्गो लगाउने प्रयास भइरहेको बताए । “साहुकरले १ लाख ऋण दिएर ३ लाखसम्मको कपाली तमसुक बनाउने गरेको पनि पाइएको छ”, थापाले भने, “साहुकरले ऋण दिएको रकमभन्दा दुईदेखि तीन गुणाभन्दा बढी रकम वा जग्गा दृष्टिबन्धक राखेर सामाजिक अपराध गरिरहेका छन् । अहिले हामीले दुवै पक्षलाई बोलाएर समस्या समाधान गरिरहेका छौँ ।”

प्रहरी नायब उपरीक्षक थापाले कतिपय उजुरीकर्ताले दुःख दिने नियतलेपनि उजुरी गरेका बताए।उनले भने,“कतिपय उजुरीकर्तालाई बारम्बार छलफलको लागि बोलाउँदा पनि नआउने समस्या भएको छ ।”

जिल्ला प्रहरी कार्यालय पर्साले गत फागुन १ गतेदेखि अनुचित लेनदेनको उजुरी दर्ता गर्न थालेको हो । जिल्ला प्रशासन कार्यालयबाट हस्तान्तरण भएका १ हजार ६ सय ५३ र प्रहरीमा दर्ता भएका २ सय २७ गरी कूल उजुरी संख्या १ हजार ८ सय ८० पुगेको छ । यीमध्ये प्रहरीले १ सय ६० उजुरी मेलमिलापको माध्यमबाट टुङ्गो लगाएको थापाले जानकारी दिए।

पर्सा प्रहरीका अनुसार मेलमिलापबाट ४ करोड ५२ लाख ९५ हजार आठ सय रकमको बिगो टुङ्गो लागेको छ । अनुचित लेनदेनसँग सम्बन्धित चार वटा मुद्दा भने पर्सा जिल्ला अदालतमा दर्ता भएका छन् । प्रहरीले साहुकरबाट अनुचित लेनदेन पीडितलाई १ बिघा १५ कट्ठा पाँच धुर ४५ कनवा जग्गा फिर्तासमेत गराएको थापाले जानकारी दिए।रासस

Related posts

वीरगन्जमा महिलामाथि चक्कु प्रहार

MadhesKhabar

महावीर पुन भन्छन् : सांसद भएपनि किताब बेच्न छाड्दीन,वीरगन्ज कृषि औजार कारखानालाई अझ राम्रो बनाउनु छ

MadhesKhabar

चुनावमा पार्टी फेर्दै हिड्ने माओवादी नेता शिवकुमार साह तेली पर्सा प्रहरीको थुनामा

MadhesKhabar

Leave a Comment