बारा,१६चैत:पर्साकाे पर्सागढी युवा स्पोर्ट्स क्लब बडनिहारले बारामा शुक्रबारदेखि सुरु पाचौं बकुलिया भवानीपुर गोल्डकपमा विजयी सुरुवात गरेको छ ।बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका ५ स्थित बकुलिया मैदानमा शुक्रबार भएकाे उद्धाटन खेलमा पर्सागढीले हेटौंडा फुटबल एकेडेमीलाई १-० ले पराजित गरेको हो ।
पर्सागढीका लागि सजित उरोले गरेकाे एक मात्र गाेल नै निर्णायक बन्याे ।उरो खेलको प्लेयर अफ दि म्याच घोषित भए ।जितसंगै पर्सागढी युवा स्पोर्ट्स क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत शनिबार वीरगन्ज युनाइटेड क्लब र एभरेस्ट फूटबल एकेडेमी सर्लाहीबीचकाे खेल हुनेछ ।
जनकल्याणकारी क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले गरेका थिए ।
प्रतियोगिता संयोजक राधेश्याम चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारी, नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, नेपाली सेनाको श्री २८ नम्बर बाहिनीका बाहिनिपती सहायकरथी राजेन्द्रमणी गिरी, सशस्त्र प्रहरी ४० नम्बर गण पिलुवाका प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, प्रहरी नायब उपरीक्षक गोविन्द पोखरेल, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरन्जिवी दाहाल लगायतको उपस्थिति रहेको थियो ।
चैत २३ गतेसम्म संचालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछन् ।

