वीरगन्ज,७चैत:वीरगन्जबाट प्रहरीले १ करोड ६० लाख भन्दा बढी मुल्यको तस्करीको सामानसहित ३ वटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले १ करोड ६३ लाख ३९ हजार ८२९ रुपैयाँ बराबरको भन्सार छली अर्थात तस्करीका सामानसहित ३ वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीस्थित सडकखण्डबाट ना.४ ख ८७४०र ना.३ ख ६०९५ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।वीरगन्जबाट काठमाण्डौ र मोरङतर्फ जाँदै गरेका ती दुवै ट्रकबाट खाद्यान्न, औषधी, लत्ताकपडा तथा हार्डवेयर पार्टसहरु बरामद गरिएको उनले बताए ।
यस्तै प्रहरीले ना. ८ ख ७२४१ नम्बरको मालवाहक ट्रक पनि नियन्त्रणमा लिएको छ । वीरगन्जबाट धनुषातर्फ जाँदै गरेको उक्त मालवाहक ट्रकबाट ३१ लख ६८ हजार ५२० रुपैयाँ बराबरको औषधी लगायतका सामग्री बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
नियन्त्रणमा लिइएका तीनवटै ट्रकसहितकाे सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको थापाले जानकारी दिए।

