बारा,१०भदौं :यति एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) को मानक सुरक्षा कार्यक्रमको मापदण्ड (आईएसएसए) हासिल गरेको छ ।उड्डयनको क्षेत्रमा आईएसएसएको यो प्रमाण–पत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एयरलाइन्सलाई मात्र प्रदान गर्ने गरिन्छ ।
आईएसएसए कार्यक्रमले प्रमाण–पत्र प्रदान गर्नुपूर्व एयरलाइन्स अपरेटरको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले मूल्याङ्कन गर्ने गर्छ । विभिन्न चरणमा मूल्याङ्कन गरी विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेकोले यती एयरलाइन्सलाई आईएसएसए अपरेटरको मान्यता दिइएको हो ।
यती एयरलाइन्सका सीईओ सुभाष सापकोटाले ‘आईएसएसएको प्रमाण–पत्र प्राप्त गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताए ।उनले हवाई सुरक्षा र परिचालन प्रक्रियाहरुको गुणस्तर बढाउने यति एयरलाइन्सको प्रयासमा यो एउटा महत्वपूर्ण उपलब्धी भएकोे बताए ।
यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय हवाई सेवा प्रदान गर्ने यती एयरलाइन्सको नयाँ मिसन रहेको उनले बताए । व्यापार विस्तारका क्रममा हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राखी यात्रुहरुको सन्तुष्टि कायम गर्न प्रतिबद्ध रहेको यती एअरलाइन्सले जनाएको छ । त्यसैले, पछिल्लो समय एअरलाइन्सले विश्वव्यापी उड्डयन सुरक्षा मापदण्डहरू पूरा गरी अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रमहरू र सुरक्षा व्यवस्थापन प्रणालीहरूमा व्यापक लगानी गरेको सापकोटाले बताए ।
आईएटीएद्वारा प्रदान गरिएको आईएसएसएको प्रमाण–पत्र यती एयरलाइन्सको अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण हो ।
हाल सिमरा विमानस्थलबाट काठमाडौंका लागि दैनिक दुईवटा उडान भर्दै आएको यति एयरलाईन्सले एउटा उडान थप्दैछ । यति एयरलाईन्सको सिमरा स्टेशन प्रमुख दामोदर तिवारीका अनुसार दशैं अघिनै सिमरा विमानस्थलमा यति एयरलाइन्सका तीन ठुला विमानले दैनिक उडान भर्नेछन् । हाल दुईवटा एटिआर ७२ विमानले सिमरामा सेवा दिईरहेकोमा अर्को एटिआर ७२ को सेवा थप हुन लागेको तिवारीले जानकारी दिए ।

