
महोत्तरी,५चैतः महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर समुदायका दम्पतीले ५० हजार रुपैयाँ नगद प्रोत्साहन रकम पाउने भएका छन्। सोमबार बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन बीमा गराएपछि बर्दिबास नगरपालिका मेयर प्रह्लादकुमार क्षेत्रीले उक्त प्रोत्साहन रकम दिने घोषणा गरेका हुन्।
“छोराछोरीको उमेर २० वर्ष पुगेपछि मात्र उनीहरुको विवाह गर्नुहोस्, नगरपालिका कार्यालयले ५० हजार नगद प्रोत्साहन रकम दिनेछ”, मेयर क्षेत्रीले भने, “यसले तपाईंहरूको स्वास्थ्य र परिवार राम्रो बन्ने छ।” यो कार्यक्रम नगरक्षेत्रका सबै मुसहर समुदायमा लागू हुने मेयर क्षेत्रीले बताए।
नगरक्षेत्रभित्रका स्थायीबासी मुसहर पुरुष र महिला दुवैलाई यो रकम उपलब्ध गराइने क्षेत्रीको भनाइ छ। सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा मुसहर महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएको क्षेत्रीले बताए। २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था भएपनि मुसहर बस्तीमा बालविवाह भने यथावत नै छ।
बर्दिबास–१४ को नमुना मुसहर बस्ती धुर्मुस सुन्तली फाउण्डेसनले बनाएर ५२ मुसहर परिवारलाई २०७४ साल वैशाख १ गते हस्तान्तरण गरेको थियो।

