Madhes Khabar
खेलकुद

जीतपुरसिमरा क्रिकेट कपकाे उद्घाटन खेलमा पर्सा विजयी

बारा,३चैत: आयोजक जीतपुरसिमरा क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा क्रिकेट संघले प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।बाराकाे औराहस्थित सेज क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा पर्साले आयोजकलाई ७७ रनले पराजित गरेको हो ।

पर्साको जीतमा अकिब अंसारी र अनुन चौहाले उत्कृष्ट ब्याटिङ गरेका थिए । टस जितेर पहिले ब्याटिङ रोजेको पर्साले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३६ रन बनाएको थियो । पर्साका लागि अकिबले ६३ रन बनाउँदै अर्धशतक बनाए । आयोजकका कप्तान सुरज लामाको बलमा पेभेलियन फर्किनु अघि उनले ५४ बलमा चार छक्का र चार चौका प्रहार गरेका थिए ।

यसैगरी अनुज चौहानले ३५ बलमा ३७ रन बनाउँदा पर्साका अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् । ।आयोजकका लागि कप्तान सुरज लामाले चार ओभरमा १८ रन खर्चिएर चार विकेट लिए भने अजय पटेलले दुई ओभर बलिङ गर्दै २२ रन खर्चिएर तीन विकेट लिएका थिए ।आजाद अंसारीले दुई विकेट लिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका खेलाडी सम्मिलित पर्साले दिएकाे १३७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको आयोजक भने ५९ रनमै समेटियो । आयोजकका लागि इर्साद अख्तरले १३ र अनिल खड्काले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो संख्यामा रन बनाउन सकेनन् ।

पर्साका अल्फाज अंसारी, सम्साद मन्सुरी, अजबाज अंसारी र अकिब अंसारीले समान दुई-दुई विकेट लिए । पर्साका अकिब खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत आइतबार पर्सा क्रिकेट संघ र कलैया क्रिकेट क्लबबीच खेल हुनेछ । अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

चैत्र १० गतेसम्म आयोजना हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता आयोजनाका लागि मधेस प्रदेश क्रिकेट संघ, बारा क्रिकेट संघ, पथलैया क्रिकेट क्लब र सिमरा क्रिकेट क्लबले व्यवस्थापकिय सहयोग गरिरहेको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन नगर प्रमुख राजन पौडेल ब्याटिङ र उपप्रमुख भोलाप्रसाद अधिकारीले बलिङ गर्दै गरेका थिए । प्रतियोगिता संयोजक सोमलाल बम्जनको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, राजनीतिक दलका प्रतिनिधि, क्रिकेट संघका विभिन्न तहका पदाधिकारी, सामाजिक तथा शैक्षिक संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

Related posts

विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, यस्तो छ खेलतालिका

MadhesKhabar

सिंगापुरमाथि नेपालको सहज जीत

MadhesKhabar

एनआई कप टी–२० क्रिकेटमा ज्ञानदा एकेडेमीको लज्जास्पद हार

MadhesKhabar

Leave a Comment