वीरगन्ज,१८कार्तिक:साविक विजेता इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलिया आइसिसी विश्वकप क्रिकेटकाे सेमिफाइनल नजिक पुगेको छ ।
शनिबार भएकाे खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ३३ रनले हराएकाे हाे। सुरुवाती दुई खेल हारेको अष्ट्रेलिया त्यसपछि लगातार पाँच खेलमा जितका साथ सेमिफाइनल नजिक पुगेको हो । साविक विजेता इंग्ल्यान्ड भने लिगबाटै बाहिरिएको छ ।
जितको लागि २ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४८.१ ओभरमा २ सय ५३ रनमा अल आउट भयो । इंग्ल्यान्डका बेन स्टोक्सले ९० बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ६४ रन बनाए ।
डेविड मलानले ६४ बलमा ४ चौका र १ छक्कासहित ५० रनमा आउट भए । मोईन अलीले तल्लोक्रममा ४३ बलमा ६ चौकासहित ४२ रन जोडेका थिए । क्रिस वोक्स ३२, डेविड विल्ली १५ र आदिल राशिद २० रना आउट भए ।
अष्ट्रेलियाको जितमा स्पिनर एडम जाम्पाले १० ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ६६ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्स र जोश हेजलवुडले दुई दुई विकेट लिए ।
त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.३ ओभरमा २ सय ८६ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाको जितमा मार्नस लाबुसेनले ८३ बलमा ७ चौकासहित सर्वाधिक ७१ रनको योगदान दिए ।
स्टिभ स्मिथ ५२ बलमा ३ चौकासहित ४४, ट्रविस हेड ११, डेविड वार्नर १५ र जोश इंग्लिस ३ रनमा आउट भए । क्यामरन ग्रीन ५२ बलमा ५ चौकासहित ४७ रनमा आउट भए । मार्कस स्टोइनिसले ३२ बलमा ३ चौका र २ छक्कासहित ३५ रन बनाए । एडम जाम्पाले १९ बलमा ४ चौकासहित २९ रन जोडे ।
इंग्ल्यान्डका क्रिस वोक्सले ९.३ ओभरमा ५४ रन खर्चेर ४ विकेट लिए । मार्क वुडले १० आोभरमा ७० रन खर्चेर २ विकेट लिए । आदिल राशिदले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । डेविड विल्ली र लियाम लिभिङस्टनले समान एक विकेट लिए ।
इंग्ल्यान्ड ७ खेलमा १ मा जित र ६ मा हारसहित २ अंकका साथ पुछारमा छ । इंग्ल्यान्डले अब नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्न बाँकी छ । तर दुई खेल अगावै उ बाहिरिएको छ ।
भारत ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिका ७ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ । भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेका छन् ।
अष्टेलिया ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । अष्टेलियाले अव अफगानिस्तान र बंगलादेशसँग खेल्नेछ । बाँकी दुई मध्य एक खेलमा जित निकाले उ सेमिफाइनल खेल्नेछ ।

