वीरगन्ज,९ चैत : वीरगन्जमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा सोमबार भएको आफ्नो पहिलो खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको हो।
कर्णालीले दिएको १२० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।सुदूरपश्चिमका लागि किरण ठगुन्नाले २६, खडक बोहराले २३, मिलन बोहराले अविजित १८ रन जोडे।बलिङतर्फ कर्णालीका दिवन पुन र अनुज चनराले दुई–दुई तथा प्रकाश जैशी र दिपेन्द्र रावतले एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३२ ओभरमा अलआउट हुँदै ११९ रनमात्रै बनाएको थियो । उसका लागि विपिन रावलले ३३, सुनील धमलाले २८ तथा अरविन्द घर्तीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
कर्णालीलाई सस्तैमा समेट्न सुदूरुपश्चिमका बलर हेमन्त धामी एक्लैले ६ विकेट लिए। ७ ओभर बलिङ गरेका उनले १६ रनमात्रै खर्चिँदा एक मेडन ओभर समेत फ्याँके। यस्तै शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले एक–एक विकेट लिए।

