वीरगन्ज,२२चैतःरञ्जित खड्काको शतक प्रेरित लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली नेपाल पुलिस क्लबमाथि ५० रनको जित हात पारेको छ । वी।गन्जको नारायणी क्रिकेट मैदानमा आइतबार भएको खेलमा २५७ रनको लक्ष्य पछ्याएको पुलिसलाई २०६ रनमा समेट्दै लुम्बिनीले महत्वपूर्ण जित हात पारेको हो ।
लुम्बिनीले दिएको लक्ष्य पछ्याउने क्रममा पुलिसका दिनेश खरेलले ९४ रन बनाए पनि हार टार्न भने सकेनन् । शतकका लागि ६ रनले चुकेका ओपनर दिनेशले १०४ बलको सामना गर्दै १० चौका र ६ छक्का प्रहार गरे । उनलाई ३२औं ओभरमा देव खनालले आउट गरेका हुन् । यसैगरी पुलिसका सरवन यादवले ३६, दिलसाद अलिले २२, करण केसीले १४ र शंकर रानाले १२ रन जोडे ।
पुलिसका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलियो पुलिसलाई रोक्ने क्रममा लुम्बिनीका बलर अजय चौहानले चार विकेट चट्काए । अजयले ९.५ ओभर बलिङ गर्दै ३७ रन खर्चिएर कप्तान आरिफ शेख, अभिनाश कर्ण, करण केसी र सरवन यादवलाई पेभेलियनको बाटो देखाएका थिए ।
यसैगरी कप्तान देव खनालले तीन विकेट लिए भने बिर मगर, निर्मल गुरुङ र सन्तोष यादवले समान एक÷एक विकेट लिएका थिए । यसअघि पुलिसले टस जित्दै ब्याटिङको निम्तो दिएपछि ओपनिङ ब्याटिङका लागि आएको लुम्बिनीले रञ्जितको उत्कृष्ट इनिङको मद्दतमा २५६ रन जोडेको थियो । लुम्बिनीका ओपनर रञ्जितले १२८ बलमा १२८ रनको शतकीय पाली खेले । ४६ औं ओभरमा करण केसीद्धारा आउट हुनुअघि उनले १३ चौका र तीन छक्का प्रहार गरे ।
प्लेयर अफ दि म्याच रञ्जितको शतकमा पुलिसलाई बलियो योगफल प्रस्तुत गरेको लुम्बिनीका लागि आकाश त्रिपाठीले ३६ र दर्श सोनारले ३३ रन बनाए। लुम्बिनीका अन्य ब्याटर भने चलेनन् । पुलिसका ललित राजवंशीले तीन विकेट लिए भने रासिद खान र दिनेश खरेलले समान दुई /दुई विकेट लिए । यसैगरी करण केसी, आरिफ शेख र दिपक सेरालाले एक / एक विकेट हात पारे । जितसँगै लुम्बिनी सात अंकसहित तालिकाको चौंथो स्थानमा उक्लिएको छ भने पराजय व्यहोरेको पुलिस समान सात अंकसहित तेस्रो स्थानमा यथावत छ ।साभारःअन्नपूर्णपोष्ट

