Madhes Khabar
अर्थतन्‍त्र

निजी क्षेत्रकाे सुझाव सरकारले नमान्दा आर्थिक मन्दीको अवस्था आएको उद्योगी-व्यवसायीकाे गुनासाे

वीरगन्ज,२८फाल्गुन:नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सम्मेलनअघि अर्थतन्त्रको क्षेत्रमा रहेका परम्परागत अवरोधहरु हटाइनु पर्ने बताएका छन् । सोमबार वीरगन्ज उद्योग वाणिज्य संघको ४८ औं वार्षिक साधारण सभामा बाेल्दै अध्यक्ष ढकालले भने,‘अप्रिल २८र २९ तारिखमा हुने लगानी सम्मेलन अघिनै मुलुकको अर्थतन्त्रको क्षेत्रमा रहेका परम्परागत अवरोधहरु हटाइनु पर्छ भन्ने नेपाल उद्योग वाणिज्य महासंघको स्पष्ट माग हाे।मुख्यसचिव सम्म हाम्रो माग पुगिसकेको छ, फास्ट ट्रयाकबाट यो काम हुनुपर्छ ।’

सरकारले निजी क्षेत्रको सुझाव केवल निजी क्षेत्रको फाइदाको लागि मात्र हो भन्ने सोंच र मानसिकता त्याग्नु आवश्यक रहेको पनि उनले बताए । ‘महासंघले सरकारलाई दिँदै आएको सुझाव केवल निजी क्षेत्रको फाइदाको लागि मात्र होइन,’ उनले भने, ‘हाम्रो सुझाव समग्र अर्थतन्त्र सुधारकै पक्षमा हुने गरेको र यो कुरा ढिलै भएपनि सरकारले बुझ्न थालेको पनि छ।’

महासंघले विगतमा दिएको सुझाव सरकार र सरकारी निकायहरुले सकारात्मक रुपमा नलिँदा हाल अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको उनले आरोप लगाए । ‘विगतमा हामीले दिएको सुझावको कार्यान्वयन नगरिँदा पनि हाल देशमा आर्थिक मन्दी र संकटको अवस्था आएको हो,’ उनले भने, ‘माग र आपूर्ति बीचको तालमेल मिलेन, राजश्व असूली कम भयो र साधारण खर्च समेत सन्चालन गर्न नसक्ने अवस्था आयो, पछि सरकारले आफ्नो कमी कमजोरी महशुस पनि गर्‍यो, तर धेरै ढिलो भइसकेको थियो ।’

ऋणमा बैंक व्याजदर घटाउन पटक-पटक निजी क्षेत्रले दिएको सुझाव सरकारले सुरुमा नमानेको र पछि मात्र आफूहरुको सुझाव कार्यान्वयन गर्न सरकार अग्रसर भएको उनले बताए । ‘यसो हुँदा समग्रमा अर्थतन्त्र चलायमान हुन सकेन,’ ढकालले भने, ‘बैंक तथा वित्तिय संस्थाहरुमा आएको समस्याको कारण पनि अर्थतन्त्र संकटमा परेको हो ।’

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालकाे अध्यक्षतामा भएको वार्षिक साधारणसभामा महासंघका उपाध्यक्षहरु सुरजकृष्ण बैद्य,उपाध्यक्ष हेमराज ढकाल,ज्याेत्सना श्रेष्ठ,वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गाैतम,उपाध्यक्ष माधव राजपाल,भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मिना, नेपाल उद्योग वाणिज्य महासंघका मधेस प्रदेश अध्यक्ष अशाेक कुमार टेमानी,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी सदस्य सुबाेध गुप्ता,वीरगन्ज भन्सार कार्यालयका प्रमुख डिलाराम पन्थी, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई,पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य लगायतकोपनि सहभागीता थियाे।

Related posts

वीरगन्ज महानगरको राजश्व संकलनमा सुधार, ९ महिनामा करिब ३ करोड बढी राजश्व संकलन

MadhesKhabar

भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा पनि घटाइने

MadhesKhabar

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

MadhesKhabar

Leave a Comment