वीरगन्ज,१२फाल्गुन:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले समाजमा सद्भाव कायम गर्नका लागि युवा वर्ग सचेत हुनुपर्नेमा जोड दिएका छन् । सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुताका बारेमा सचेत हुनुका साथै अरुलाई पनि सचेत बनाई समाजलाई शान्त र सभ्य बनाउनुपर्ने मेयर सिंहको भनाई छ ।
वीरगन्जको आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्टमा आयोजित हल्ट प्राईज वीरगनणज पब्लिक कलेज (बिपिसी) को समापन समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले वैभब वीरगञ्ज बनाउनका लागि ऊर्जाशिल एवम् सिर्जनशील युवाको महत्वपूर्ण भूमिका हुने बताए । उनले भने, ‘तपाई युवाहरु नै मेरो ऊर्जाको स्रोत हुनुहुन्छ । त्यसैले हामी सबै मिलेर वीरगन्जलाई बैभव बनाउने अभियालाई सफल पारौँ । हामीले गरीरहेका कामलाई अझै राम्रो र प्रभावकारी बनाउने खालका कुनै योजना छन् भने आउनुहोस् सहकार्य गरौँ ।’
अहिलेसम्मकाे २१ महिनाको अवधिमा आफुले महानगरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यको सुभारम्भ गरेको बताउँदै उनले आफ्नो कार्यकालमा वीरगन्जको मुहार फेर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेस विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले जागिर खोज्ने भन्दा पनि रोजगारी सृजना गर्ने जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यक्ता औँल्याए । उनले भने, ‘हामीले अब काम खोज्ने हैन काम दिने मान्छे बनाउनुपर्छ । कुनै पनि काम सानो ठूलो हुँदैन । मान्छेले के भन्लान् भनेर काम नगर्ने सोच र प्रवृतीलाई त्यागेर मेहनत र लगनमा विश्वास गरौँ ।’
साथै उनले वीरगन्ज महानगरका मेयर सिंहको नेतृत्वमा छोटो समयमा वीरगन्जमा भएको सकरात्मक परिवर्तनको प्रसंशा गरे । उनले भने, ‘कोही बाहिरबाट आउने अतिथीहरुलाई म वीरगन्जमा एक रात बसाएर रातिको समयमा वीरगनणज घुमाएर पठाउँछु । त्यसपछि उहाँहरुले वीरगञ्ज परिवर्तन भएको आभाष गर्नुहुन्छ ।’ उनले थपे, ‘म आफै पनि मेयरको आकांक्षी थिए । यदि टिकट पाएर जितेको भएपनि अहिलेको जस्तो काम गर्न सक्ने थिएन ।’
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले यहाँका उद्योग व्यवसायमा आवश्यक पर्ने जनशक्ति बाहिरबाट बोलाउनुपर्ने बाध्यता रहेको बताए । उद्योग तथा कलकारखानाका लागि आवश्यक पर्ने जनशक्ति यहीँ उत्पादन गर्न सके कोही पनि बेरोजगार हुनुपर्ने अवस्था नआउने उनको जिकिर छ ।
हल्टप्राइज फाइनलका लागि मोहित ग्रूपका प्रबन्ध निर्देशक मोहित गुप्ता, लिटिल एञ्जल स्कुलका प्रबन्ध निर्देशक एवम् प्रिन्सीपल सन्नी पाख्रिन, कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) पर्साका अध्यक्ष प्रशान्त कुमार र सिटिजन बैंकका रिजनल हेड नितेश खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका छन् । कार्यक्रमको सहजीकरण शिवम साहले गरेका थिए ।

