काठमाडौं,२६माघ:दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि साबिक विजेता भारत र अस्ट्रेलियाबिच भिडन्त हुने भएको छ । फाइनल खेल आइतबार खेलिने छ ।
दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानमाथि एक विकेटको रोमाञ्चक जित हासिल गर्दै अस्ट्रेलिया फाइनलमा पुगेको हो । त्यसअघि पहिलो सेमिफाइनल खेलमा भारतले आयोजक दक्षिण अफ्रिकालाई दुई विकेटले हराएको थियो ।
दोस्रो सेमिफाइनलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४८.५ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ४९.१ ओभरमा नौ विकेट गुमाएर एक सय ८१ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । अस्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान ह्यारी डिक्सनले ५० रन बनाएका थिए ।
प्रतियोगितामा नेपालसहित १६ राष्ट्रले सहभागिता जनाएको थिए । नेपाल प्रतियोगिताको ‘सुपर सिक्स’ चरणसम्म पुगेको थियो । समूहगत चरणको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको थियो ।

