काठमाडौं,२१माघः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा एक जना सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेर लुटपाटको प्रयास भएको छ ।
सुस्ता गाउँपालिका–१, बरुवमा रहेको पसल बन्द गरेर घर फर्किँदा बर्दघाट नगरपालिका–१६, ककुरमारा नजिकै सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षकरेशम बोहोराका अनुसार, एक राउण्ड गोली विश्वकर्माको पाखुरामा लागेको छ । ‘अहिले उहाँको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ’, बोहोराले भने, ‘थप उपचारका लागि काठमाडौं लैजाने तयारी छ, तर उहाँ खतरामुक्त हुनुहुन्छ ।’
प्रहरीका अनुसार, अज्ञात व्यक्तिले पेस्तोल र खुर्पा जस्तो धारिलो हतियार देखाएर स्कुटर छाड्न भनेको थियो । छोरासहित स्कुटरमा रहेका विश्वकर्माले नछाडेपछि एक राउण्ड फायर गरेको पाइएको प्रहरीले जनाएको छ ।
गोली हानेपछि स्कुटर लिएर उनीहरु भागेका थिए । त्यसरी लगिएको लु ७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको प्रहरी नायब उपरीक्षक डीएसपी बोहोराले बताए ।
अनुसन्धान अधिकृतहरुका अनुसार, स्कुटरमा सुन रहेको आशंकामा उनीहरुले लुटपाट गरेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
‘तर, त्यहाँ धेरै सुन थिएन भन्ने बुझिएको छ, त्यहाँ डिकीमा भएको पसलको चाबी र चेक बुक भने उनीहरुले लगेको भेटिएको छ’, बोहोराले भने, ‘यसमा संलग्नहरुबारे थप अनुसन्धान गरिरहेका छौं ।’साभारः अनलाइनखबरबाट

