काठमाडौं,५माघ:मधेस प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार सशस्त्र प्रहरीको एपीएफ क्लबमाथि ५ विकेटको सानदार जीत हात पारेको छ । पवन सर्राफ, नीरज यादव र रुपेश सिंहले अर्धशतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २सय४७ रनकाे लक्ष्य मधेसले २ ओभरअघि पूरा गर्यो ।
टस हारेपछि ब्याटिङ गर्न आएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ४६ रन बनायो । तर, ४९ औं ओभरमा ब्याटिङक्रममा अविनाश बोहरालाई नाडीमा चोट लाग्नु एपीएफको दुर्भाग्य बन्यो, जसका कारण टोलीले आफ्ना प्रमुख मध्यम गतिका बलरविनै खेल्नुपरेको थियो । एउटा बलरको अभावमा एपीएफबाट कप्तान रोहित पौडेलले नै ९ ओभर नै बल फाल्नुपरेको थियो ।
मधेसले ब्याटिङमा यसको फाइदा उठायो । ओपनर मायन यादव २ र कप्तान हरिशंकर शाह ८ रनमा आउट भए पनि मधेसले सानदार ब्याटिङ गरेको थियो । अर्का ओपनर अनिल शाहले २९ रन बनाए । उनले ५० बलमा २ चौका प्रहार गरे । उच्च फर्ममा देखिएका पवनले ६६ बलमा ४ चौका र ५ छक्कासहित ६४ रन बनाए । नीरजले ७० बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाए। रुपेशले ७२ बलमा ७२ रन नै बनाए । उनले कुल ४ चौका र ३ छक्का प्रहार गरे । अभिषेक तिवारी १३ बलमा १० रन बनाई अविजित रहे ।
एपीएफका रमेश कुर्मी र रोहितले २–२ तथा मौसम (श्याम) ढकालले १ विकेट लिए । यसअघि एपीएफबाट आसिफ शेख र रोहितले अर्धशतक बनाएका थिए ।रोहितले ७४ बलमा ५ चौका र २ छक्कासहित ५८ र आसिफले ६९ बलमा ५ चौका र ३ छक्कासहित ५९ रन बनाए ।
मधेसका लागि रुपेश र प्रदीप पासवानले ३–३ विकेट लिए ।रुपेशले ५ ओभरमा १ मेडन राख्दै ३१ र प्रदीपले १० ओभरमा ३५ रन खर्चे । रन्जित कुमारले १० ओभरमा १ मेडन राख्दै ४५ रन खर्चेर २ र अरनिको यादवले १ विकेट लिए । मधेसको ४ खेलमा यो दोस्रो जीत हो । पहिलो दुई खेल जितेको एपीएफले तेस्रो खेलमा पराजय भोगेको छ ।

