काठमाडौं,१८फाल्गुन : त्रिदेशीय टी-२० क्रिकेटमा नेपालले पहिलो जीत दर्ता हात पारेको छ। शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाविरुद्ध नेपालले ३ रनको रोमाञ्चक जीत हात पारेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १८० रन बनायो। नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे। उनले ३७ बलमा ४ छक्का र १ चौकासहित ५५ रन बनाए।
त्यस्तै आरिफ शेखले ३१ रन, गुल्शन झाले २६ रन, अनिल साहले २३ रन, दीपेन्द्र सिंह ऐरीले १६ रन र रोहित पौडेलले १० रन बनाए।
१८१ रनकाे लक्ष्यकासाथ जवाफी ब्याटिङ गरेको नामिबिया निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १७७ रनमात्र बनाउन सक्यो। नामिबियाका लागि जेजे स्मितले सर्वाधिक ५० रन बनाए। त्यस्तै ज्यान फ्रिलिङ्कले ३७, जेपी कोट्जले २५ र रुबेन ट्रुम्पलेम्यानले १४ रन बनाउँदा जेन ग्रिन २३ रनमा अविजित रहे।
जीतसँगै नेपालले फाइनल पुग्ने सम्भावनालाई कायमै राखेको छ। समान ३ खेलमा नेपाल र नामिबियाको २-२ अंक रहेको छ भने नेदरल्यान्ड्स दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ। नेपालले शनिबार नेरदल्यान्ड्ससँग खेल्नेछ।

