चितवन,२माघ:त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको बलेरो जिप फेला परेको छ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त बलेरो जिप त्रिशूलीमा खसेको हो।
मंगलबार बिहान पौने पाँच बजेको समयमा उक्त जिप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। जिप सडकबाट करिब ८५ मिटर तल नदीमा खसेको हो।
त्रिशूली नदीमा जिप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको छ ।
केहीबेरअघि गोताखोरको टोलीले जिप पानीभित्र भेट्टाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। उक्त जिपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको र उनीहरुको खोजी भइरहेको उनले बताए ।

