Madhes Khabar
अन्तर्राष्ट्रिय

एसियाको सबैभन्दा धनी व्यक्तिमा फेरि भारतका अडानी

फाइल तस्बिर ।

काठमाडौं,२०पुष:विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार भारतका गौतम अडानी एक पटक फेरि एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहलाई आफ्ना बजार मूल्यभन्दा एक सय ५० अर्ब डलरभन्दा बढी नोक्सान भएको थियो । प्रतिवेदनमा अडानी समूहमाथि ‘निर्लज्ज’ कर्पोरेट ठगीको आरोप लगाइएको थियो ।

टेस्लाका संस्थापक एलन मस्कलाई पछि पार्दै विश्वको सबैभन्दा दोस्रो धनी व्यक्ति बनेका अडानीको व्यक्तिगत सम्पत्ति झन्डै ८० अर्ब डलरले घटेको थियो । यद्यपि सार्वजनिक छानबिनमा कमी आएपछि अडानी र उनको व्यवसाय दुवैले ती घाटामध्ये धेरैजसोलाई कम गरेका छन् ।

ब्लुमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार याे हप्ता अडानीको कुल सम्पत्ति झन्डै सात अर्ब ७० करोड डलरले बढेर ९७ अर्ब ६० करोड डलरसम्म पुगेको छ । उनको सम्पत्ति भारतीय टाइकुन मुकेश अम्बानीभन्दा थोरैले बढी छ । मापनअनुसार यी दुवै जना धनी व्यक्तिको सूचीमा अहिले विश्वको १२ औँ र १३ औँ स्थानमा छन् ।

भारतको सर्वोच्च अदालतले हिन्डनबर्ग आरोपहरूको अनुसन्धानको दायरालाई बढाउन माग गर्ने निवेदनलाई खारेज गरेपछि यस हप्ता सूचीबद्ध अडानी समूहका कम्पनीहरूको शेयर उकालो लागेको छ । अदालतले बजार नियामकहरूले गरेको विद्यमान अनुसन्धान पर्याप्त भएको बताएको छ ।

‘सम्माननीय सर्वोच्च अदालतको फैसलाले सत्यको जित भएको देखाएको छ’, फैसलापछि अडानीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म हाम्रो साथमा उभिनेहरूप्रति आभारी छु, भारतको विकास गाथामा हाम्रो विनम्र योगदान जारी रहने छ ।’

हिन्डनबर्गको प्रतिवेदनअघि अडानी समूहको शेयर मूल्य तीव्ररूपमा बढेको थियो र समूहको मुख्य सूचीबद्ध एकाइले सन् २०२३ जनवरीसम्म पाँच वर्षमा एक हजार प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेको थियो । यसबाट समूहको खतरनाक विस्तारलाई आर्थिक सहयोग गरेको थियो ।

अडानी समूहको पहुँच अहिले कोइला खानी, नवीकरणीय ऊर्जा, बन्दरगाह, विमानस्थलसहित धेरै प्रमुख क्षेत्रमा विस्तार भएको छ । अडानीलाई गुजरात राज्यका स्थानीयवासी एवं प्रधानमन्त्री नरेन्द्र मोदीको निकट सहयोगी मानिन्छ । विपक्षी दल तथा अन्य आलोचकहरूले उनिहरुबीचको सम्बन्धले अडानीलाई अनुचितरूपमा व्यापार जित्ने र उचित निरीक्षणबाट बच्न सहयोग पुगेको बताएका छन् ।

Related posts

रूसमा कन्सर्ट चलिरहेका बेला बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा ६० जनाको मृत्यु

MadhesKhabar

भारतमा मन्दिर भत्किँदा ३५ जनाकाे मृत्यु

MadhesKhabar

पाकिस्तानमा सेनाको कारबाहीमा एकैदिन ३० जना आतंककारी मारिए

MadhesKhabar

Leave a Comment