Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेट: लिग चरणकाे ९ खेलमा ९ जीत हासिल गर्दै भारत सेमिफाइनलमा

वीरगन्ज,२६कार्तिक :घरेलु टोली भारतले आइसिसी विश्वकप क्रिकेट २०२३ मा अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ ।आइतबार भएकाे खेलमा नेदरल्यान्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत लिगका सबै ९ खेलमा जितका साथ सेमिफाइनल खेल्ने भएको हो ।

जितको लागि ४ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७.५ ओभरमा २ सय ५० रनमा अल आउट भयो । नेदरल्यान्ड्सका तेजा निडामानुरुले ३९ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ५४ रन बनाए ।

साइब्रांड एंगेलब्रेक्ट ८० बलमा ४ चौकासहित ४५ रनमा आउट भए । नेदरल्यान्ड्सका सबै ब्याटरले भारतविरुद्ध राम्रो सुरुवात गरेपनि ठूलो इनिङ खेल्न सकेनन् ।

ओपनर वेस्ली ब्यारेसी ४, म्याक्स ओडाउड ३०, कोलिन एकरम्यान ३५, स्कट एडवार्ड्स १७, बास डि लिड १२, लोगन भान बिक र रोलेफ भान मर मर्वेले १६–१६ रन बनाए ।

भारतका कुलदीप यादवले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर २ विकेट लिए । रविन्द्र जडेजाले ९ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ९ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराजले ६ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । विराट कोहली र रोहित शर्माले एक एक विकेट लिए ।

त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनाएको थियो । भारतको जितमा श्रेयस ऐर ९४ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक १ सय २८ रनमा नट आउट रहे ।

लोकेश राहुल ६४ बलमा ११ चौका र ४ छक्कासहि १ सय २ रनमा आउट भए । चौथो विकेटका लागि राहुल र ऐरले १ सय २८ बलमा २ सय ८ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेका थिए ।

भारतलाई ओपनर रोहित शर्मा र शुभमन गिलले ११.५ ओभरमा १ सय रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । रोहित शर्मा ५४ बलमा ८ चौका र २ चौकासहित ६१ रन बनाउँदै आउट भएका थिए । गिल ३२ बलमा ३ चौका र ४ छक्कासहित ५१ रनमा आउट भए । विराट कोहली ५६ बलमा ५ चौका र १ छक्कासहित ५१ रनमा आउट भए ।

नेदरल्यान्ड्सका बास डि लिडले १० ओभरमा ८२ रन खर्चेर २ विकेट लिएका थिए । रोलेफ भान मर्वे र पल भान मार्केनले समान एक एक विकेट लिए । लोगन भान बीकले १० ओभरमा १ सय ७ रन खर्चिदा विकेट लिन सकेनन् ।

भारत ९ खेलमा १८ अंकका साथ शीर्षस्थानमा रह्यो । दक्षिण अफ्रिका ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रह्यो । अष्ट्रेलिया ९ खेलमा १४ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा रह्यो । न्युजिल्यान्ड ९ खेलमा ५ मा जितसहित १० अंकका साथ अन्तिम चारमा रह्यो ।

भारतले सेमिफाइनलमा १५ नोभेम्बरमा न्युजिल्यान्डसँग खेल्नेछ । १६ नोभेम्बरमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । फाइनल १९ नोभेम्बरमा हुनेछ ।

Related posts

यू–१९ एशिया कप क्रिकेटमा अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित

MadhesKhabar

बारा जिल्ला क्रिकेट संघलाई वीरगन्जको एनआइ कलेजले गर्‍यो प्रायोजन

MadhesKhabar

सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि पाएनौं : कप्तान पौडेल

MadhesKhabar

Leave a Comment