
वीरगन्ज,२०कार्तिक:अपहरणमा परेका पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ का नथुनी साह कलवारलाई भारतको भेलाहीबाट नेपाल प्रहरीले उद्धार गरेको छ।आइतबार बेलुका अपहरणमा परेका नथुनीलाई आइतबार नै करिब राति साढे १२ बजेितर सीमावर्ती भारतीय गाउँ भेलाहीबाट प्रहरीले उद्धार गरेको हो ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएकाे प्रहरी टोलीले नथुनीलाई पर्साकै पकाहामैनपुर गाउँपालिका -१ धोरे नजिकको सिमानाबाट करिब ३ किलोमिटर भारतभित्र पर्ने भेलाही गाउँबाट भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए ।
नथुनीलाई अपहरण गरेको आरोपमा प्रहरीले कालिकामाई – ४ कै आमोद चौरसिया (बरई) लाई पक्राउ समेत गरेको छ । प्रहरी निरीक्षक केसीका अनुसार प्रमोद कै योजनामा नथुनीलाई अपहरण गरिएको
अनुसन्धानका क्रममा खुलेको छ ।
नथुनीले पर्सा जिल्ला अदालतबाट लेनदेन मुद्दा जितेपछि त्यही मुद्दामा प्रतिवादीसमेत रहेका प्रमोदले आफ्ना नातेदार पर्ने अमोद चौरसिया (बरई) र सहयोगी रञ्जित साह गोढसँग मिलेर आफ्नो अपहरण गरेको नथुनीको भनाई छ ।पर्सा जिल्ला अदाफतकाट मुद्दा जितेर साइकलमा वीरगन्जबाट गाउँ फर्किरहेका बेला आफूलाई उनीहरूले पर्साकाे प्रसौनी भन्ने ठाउँबाट अपहरण गरेको नथुनीले बताएकाे प्रहरीले जानकारी दिएकाे छ ।
नथुनीका अनुसार घर जाने क्रममा प्रमोद, अमोद र रञ्जितले आफूलाई बिच बाटोमै रोकेर ज्यान मार्ने धम्की दिँदै मोटरसाइकलमा बसाएर नदी किनारको कच्ची बाटो हुँदै सीमावर्ती भारतीय गाउँ भेलाही पुर्याएका थिए । भेलाहीमा लगेर उनीहरूले स्थानीय विनोद बर्णवालको घरमा आफूलाई बन्धक बनाएर राखेको नथुनीको भनाई छ । त्यहाँ उनीहरूले जबरजस्ती मिलापत्रको कागजमा हस्ताक्षर समेत गर्न लगाइएको उनको कथन छ । हस्ताक्षर गर्न नमानेपछि अपहरणकारीहरूले हातपात गरेको र त्यसक्रममा आफू घाइते समेत भएको उनले बताए ।
प्रमोदसँगको लेनदेन मुद्दामा अपहरणमा परेका नथुनी वारिस थिए । उनका छोरा जितेन्द्रकुमार गुप्ता मुद्दाका वादी हुन् । उनको पाँच लाखको लेनदेन मुद्दामा पर्सा जिल्ला अदालतले आठ लाख ९० हजार बिगो भर्ने फैसला गरेको छ । त्यही रिसिइबिका कारण नथुनीलाई अपहरण गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक केसीले जानकारी दिए।
अपहरण पर्ने क्रममा नथुनीले उनीसँग रहेको मोबाइलबाट घरमा छोरालाई फोन गरेर आफूलाई अपहरण गरेर भारत लगिरहेको बताएका थिए । त्यसपछि उनको मोबाइल बन्द भएको थियो । अपहरणमा खबर पाएसँगै नथुनीका परिवारका सदस्यहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उनको खोजी कार्य सुरु गरेको थियो । ‘खोजी गर्ने क्रममा अपहरण पर्न सक्नुको कारण केलाउँदा लेनदेनकै रिसिइबिका कारण नथुनी अपहरणमा परेको हुनसक्ने हामीले निष्कर्ष निकाल्यौँ,’ प्रहरी निरीक्षक केसीले भने, ‘अनि अनुसन्धान गर्दै जाँदा हामी भारतको भेलाही गाउँसम्म पुग्यौँ ।’
भेलाही गाँउमा पुगेर खाेजबिन गर्दा नथुनीलाई स्थानीय विनोद बर्णवालको घरमा बन्धक बनाएर राखिएको जानकारी पाएपछि भारतीय प्रहरीको सहयोगमा उनको उद्धार गरिएको केसीले बताए । भेलाहीमा नथुनीलाई बन्धक बनाउने विनोद आफ्नो पत्नी उन्नति कलवारसँग फरार रहेको स्रोतको भनाई छ । अपहरणमा संलग्न रहेको आरोप लागेका रञ्जितको खोजी कार्य भइरहेको केसीले बताए । ‘अर्का व्यक्ति अमोदको संलग्नता बारे हामीले अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।